हेटौंडा– विश्वासको मत लिने प्रस्ताव दर्ता गराई प्रदेशसभाको बैठक आह्वान गराएका बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले सदनमा सम्बोधन गर्दै राजीनामा दिएका छन् । नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै अल्पमतमा परेका मुख्यमन्त्री जम्कट्टेलले विश्वासको मत लिने भन्दै प्रदेशसभामा प्रस्ताव दर्ता भएको थियो ।
आइतबारको प्रदेशसभा बैठकमा सम्बोधन गर्ने क्रममा आफ्नो कार्यकालमा भएका कामको फेहरिस्त प्रस्तुत गर्दै मुख्यमन्त्री जम्कट्टेलले नयाँ सरकार बनाउन मार्ग प्रसस्त गरिएको घोषणा गरे । आफूले गरेको कामको विषय प्रदेशसभामा रेकर्ड गराउनको लागि मात्र प्रदेशसभामा विश्वासको मतकोे प्रस्ताव दर्ता गराएको मुख्यमन्त्री जम्कट्टेलले बताए । संसदको पहिलो र दोस्रो दल मिलेर सरकार बनाउने परिस्थिति बनेको र उनीहरुको स्पष्ट बहुमत रहेकाले आफूले नयाँ सरकार बनाउन मार्ग प्रशस्त गरेको जम्कट्टेलले बताए । जम्कट्टेल पछिल्लो समय एमाले, नेकपा एकीकृत समाजवादीसहितका दलको समर्थनमा माओवादी केन्द्रका तर्फबाट मुख्यमन्त्री बनेका थिए । संसदको पहिलो र दोस्रो दल मिलेर बन्ने सरकारले के गर्नेछ भन्ने आफूहरुले प्रतिपक्षमा बसेर हेर्ने जम्कट्टेलले बताए । माओवादी केन्द्र सशक्त र रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताउँदै उनले असंसदीय र अमर्यादित व्यवहार नगर्ने स्पष्ट पारे ।
२४ असारमा सता साझेदार दल नेकपा एमालेले समर्थन फिर्ता लिएसँगै जम्कट्टेल अल्पमतमा परेका थिए । २५ पुस २०७९ मा एमाले, राप्रपा, माओवादी केन्द्र र एकीकृत समाजवादीको सत्ता समीकरणबाट जम्कट्टेलल दोस्रो कार्यकालको पहिलो बागमती सरकारको नेतृत्व गरेका थिए ।

