Search
Close this search box.

बागमतीमा मुख्यमन्त्री लामा र ९ मन्त्रीको सपथ

हेटौंडा– बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री बहादुरसिंह लामा र ९ मन्त्रीहरुले सपथ ग्रहण गरेका छन् । हेटौंडा–१० स्थित प्रदेश प्रमुखको कार्यालयमा मुख्यमन्त्री र मन्त्रीहरुको सपथग्रहण भएको हो । नेकपा एमालेबाट ६ जना मन्त्रीहरुले मन्त्रालयको जिम्मेवारीसहित सपथ ग्रहण गरे भने कांग्रेसबाट ३ जना मन्त्रीले पछि जिम्मेवारी तोकिने गरी सपथ ग्रहण गरेका हुन् ।

बागमती प्रदेश प्रमुख यादब चन्द्र शर्माले मुख्यमन्त्री र मन्त्रीहरुलाई पद तथा गोपनियताको सपथग्रहण गराएका हुन् । नेपालको संविधानको धारा १६८ को २ अनुसार साउन ८ मा मुख्यमन्त्री नियुक्त भएका लामा प्रदेशका पाँचौँ मुख्यमन्त्री हुन् । प्रदेशमा एमालेबाट कृषि तथा पशुपन्छी विकास मन्त्रीमा प्रकाश श्रेष्ठ, स्वास्थ्य मन्त्रीमा किरण थापा, वन तथा वातावरण मन्त्रीमा कृष्ण सिलवाल, उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रीमा सुकमाया तामाङ, भौतिक पूर्वाधार विकास मन्त्रीमा अमन मास्के र श्रम रोजगार तथा यातायात मन्त्रीमा प्रेम भक्त महर्जनलाई नियुक्त गरिएको छ ।

कांग्रेसबाट कुन्दनराज काफ्ले, श्याम खड्का, मदु कुमार श्रेष्ठलाई मन्त्रीमा नियुक्त गरिएकोमा पछि जिम्मेवारी तोकिने प्रदेश प्रमुखको कार्यालयले जनाएको छ । नेकपा एमाले र कांग्रेसको गठबन्धनबाट बनेको प्रदेश सरकारमा एमालेले ६ मन्त्रालय र कांग्रेसले मुख्यमन्त्रीसहित ७ मन्त्रालय लिने सहमति भएको थियो । एमालेले मंगलबार नै मन्त्रीहरुको टुंगो लगाएता पनि कांग्रेसले ३ जना मन्त्रीको नाम अझै टुङ्ग्याउन बाँकी छ ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan