काठमाडौं– सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा १८ जनाको मृत्यु भएको पुष्टी भएको छ । नागरिक उड्डयन प्राधिकरणले जहाज दुर्घटनामा एयरलाइन्सका प्राविधिक तथा कर्मचारी गरी १८ जनाको मृत्यु भएको र चालक घाइते भएको जनाएको छ ।
प्राधिकरणका प्रवक्ता हंशराज पाण्डेले १८ जनाको मृत्यु भएको पुष्टि गरे । दुर्घटनामा घाइते अवस्थामा उद्धार गरिएका चालक मनिष शाक्यको काठमाडौँ मेडिकल कलेजमा उपचार भइरहेको छ । जहाज मर्मत गर्ने उद्देश्यले काठमाडौँबाट पोखराका लागि उडेको सौर्य एयरलाइन्सको ९ एन एएमई जहाज बुधबार बिहान करिब ११ बजेतिर विमानस्थलको धावनमार्गबाट उत्तरपूर्वतर्फ पर्ने नजिकैको क्षेत्रमा दुर्घटनामा परेको हो ।
१९ जना यात्रु रहेको विमानमा क्याप्टेन मनिषरत्न शाक्य (घाइते) र को–पाइलटको रुपमा संजित कटुवाल रहेका थिए । विमानमा सवार कर्मचारीहरूमा अमित मान महर्जन, सागर आचार्य, दीलिप वर्मा, मनुराज शर्मा, अश्विन निरौला, सुदीप लाल जोशी, सर्वेश मरासिनी, श्याम विन्दुकार, नवराज आले, राजाराम आचार्य, प्रिजा खतिवडा, अधिराज शर्मा, उद्धव पुरी, यज्ञ प्रसाद पौडेल, सन्तोष महतो, पुन्यरत्न शाही र आरिफ रेडा रहेको बताइएको छ । आरिफ विदेशी नागरिक हुन् ।
तस्बिर स्रोतः अनलाइनखबर

