Search
Close this search box.

मकवानपुरका सात जना एमाले नेताले पाए नयाँ जिम्मेवारी

हेटौंडा– नेकपा एमालेको काठमाडौंमा बिहीवार बसेको सचिवालय बैठकले मकवानपुरका सात जना नेतालाई पार्टीको थप महत्वपूर्ण नयाँ जिम्मेवारी प्रदान गरेको छ ।

नयाँ जिम्मेवारी पाउने नेतामा केदार न्यौपाने, रामेश्वर राना, कृष्णप्रसाद दाहाल, सुवासचन्द्र ठकुरी, महेशकुमार बर्तौला, भारती पाठक र जुनेलीमाया श्रेष्ठ रहेका छन् । पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको सचिवालय बैठकले कृषि तथा पशुपन्छी विभाग प्रमुखमा केन्द्रीय सदस्यसमेत रहेका केदार न्यौपाने र केन्द्रीय सदस्य भारती पाठकलाई वन तथा वातावरण विभाग प्रमुखको जिम्मेवारी दिएको हो । पाठक बागमती प्रदेश सभा सदस्यसमेत हुन् ।

यसैगरी, पार्टीको सल्लाहकार परिषद् सदस्यमा पूर्वकेन्द्रीय सदस्य कृष्णप्रसाद दाहाल र संविधानसभा सदस्य सुवासचन्द्र ठकुरी मनोनित भएका छन् । दाहाल मकवानपुरबाट चार पटक संसदीय निर्वाचनका विजेता र प्रतिनिधिसभाको अघिल्लो कार्यकालमा अर्थ विकास समितिका सभापतिसमेत थिए ।

रामेश्वर रानालाई पार्टी जिल्ला इञ्चार्जको जिम्मेवारी दिइएको छ । सचिवालय बैठकले प्रतिनिधिसभा क्षेत्र नम्बर २ को इञ्चार्जमा केन्द्रीय सदस्य जुनेलीमाया श्रेष्ठलाई तोकेको छ । श्रेष्ठ यसअघि प्रदेशसभा सदस्य थिइन् ।

पार्टीले जिल्लाको प्रतिनिधिसभा क्षेत्र नम्बर २ का सांसद महेशकुमार बर्तौलालाई केन्द्रीय सदस्यमा मनोनित गरेको छ । बर्तौलालाई प्रतिनिधिसभा क्षेत्र नम्बर–१ को जिम्मेवारी पनि दिइएको छ । सचिवालय सदस्य बैठकले १७ जना नेतालाई केन्द्रीय सदस्यमा मनोनित गर्दा बर्तौलालाई पनि केन्द्रीय सदस्य बनाएको हो ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan