Search
Close this search box.

राप्ती खाेलामा पनि र्‍याफ्टिङ

हेटाैंडा-हेटाैंडाकाे राप्तीपुलदेखि मनहरी गाउँपालिकाकाे रजैया-ज्यामिरेसम्म र्‍याफ्टिङ सेवा सुरु गरिएकाे छ । आन्तरिक पर्यटनलाई प्रर्वर्द्धन गर्ने उद्धेश्यले राप्तीखाेलामा सिजनेबल र्‍याफ्टिङ सेवा शनिबारबाट सुरु गरिएकाे हाे ।

त्रिशूली नदीमा  र्‍याफ्टिङको सेवा दिँदै आएकाे नेचर स्पोर्टस एन्ड एडभेन्चर्स प्रा.लि.ले राप्तीखाेलामा वर्षायाम केन्द्रित र्‍याफ्टिङ सेवा सुरु गरेकाे जनाएकाे छ । हिउँदयाममा राप्तीमा पानीकाे सतह कम भएपछि भने र्‍याफ्टिङका लागि उपयुक्त नहुने कम्पनीले जनाएकाे छ ।  र्‍याफ्टिङ सेवाको परीक्षण यात्रामा मनहरी गाउँपालिकाका अध्यक्ष रञ्जन कालाखेती सहित मकवानपुरका पत्रकारहरूले सहभागिता जनाएका थिए।

मनहरी गाउँपालिकाका अध्यक्ष कालाखेतीले राप्ती नदीमा रयाफ्टिङलाई व्यवसायीकरण गर्न सके आन्तरिक तथा बाह्य पर्यटक मनहरी भित्र्याउन मद्दत पुग्नुका साथै आर्थिक समृद्धि समेत हुने विश्वास रहेको बताएका छन् ।

नेचर स्पोर्टस एन्ड एडभेन्चर्स प्रा.लि.का अनुसार वर्षायाममा राप्ती नदीको पानीको बहाव, सुरक्षा, र मनोरञ्जनका दृष्टिले यहाँ र्‍याफ्टिङको राम्रो सम्भावना रहेको छ। कम्पनीले हेटौँडाको राप्तीपुलदेखि मनहरी ज्यामिरेसम्मको ३ घण्टाको र्‍याफ्टिङ यात्राका लागि प्रति व्यक्ति ९ सय रुपैयाँ शुल्क निर्धारण गरेको जनाएको छ।

यो नयाँ पर्यटकीय गतिविधिले हेटौँडा र आसपासका क्षेत्रहरूमा पर्यटन प्रवर्द्धन गर्नुका साथै स्थानीय अर्थतन्त्रलाई बढावा दिने अपेक्षा गरिएको छ ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan