हेटौंडा– नेपाल स्वयम्सेवी रक्तदान समाज हेटौंडा नगर समितिको प्रथम साधारणसभा सम्पन्न भएको छ । नेपाल स्वयम्सेवी रक्तदान समाज नगर अध्यक्ष पुर्ण प्रसाद अर्यालको सभाध्यक्षतामा भएको उक्त कार्यक्रममा हेटौंडा उपमहानगरपालिका ४ नम्बर वडा अध्यक्ष नवीन सिग्देलको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि सिग्देलले परिवार भन्दा माथि उठेर संसारको लागि गरिने सेवाको काममा लागेको प्रति समितिलाई धन्यवाद दिँदै जनप्रतिनिधिको पनि यसमा भूमिका रहनुपर्ने बताए । स्थानीय सरकारले स्वास्थ्यको क्षेत्रमा लगानी नगरेको भन्दै मानव जीवन लक्षित कार्यक्रमहरु गर्नुपर्नेमा उनले जोड दिए ।
अठार वर्ष पूरा भई ६० वर्षसम्मका स्वस्थ नागरिकबाट संवत् स्फुर्तले निशुःल्क दान गरेको रगत विरामी लाभग्राहीसम्म सहज तवरले उपलब्ध होस् भन्ने हेतुले हेटौंडामा यस संस्था खोलिएको अध्यक्ष अर्यालले बताए । यस संस्थाले रक्तदाता र नेपाल रेडक्रस सोसाइटी ब्लड बैंकसँग समन्वय गरी सकेसम्म रगत अभाव भएको बिरामीलाई निःशुल्क रगत उपलब्ध गराउने प्रयास गरिरहेको र सामाजिक क्षेत्रमा हालसम्म विभिन्न काम गरिसकेको उनले बताए ।
कार्यक्रममा हेटौंडा अस्पतालमा कार्यरत डाक्टर प्रेरणा बर्तौलालाई सामाजिक क्षेत्रमा अगाडि बढ्न प्रेरणा स्वरुप सम्मान समेत गरिएको थियो । कार्यक्रममा नेपाल स्वयम्सेवी रक्तदान समाजका नगर कोषाध्यक्ष सानो काजी बस्ताकोटी र सचिव राजेश वाग्लेले प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा हेटौंडा उपमहानगरपालिका– १ नम्बर वडा अध्यक्ष सबिन न्यौपाने,बालरोग विशेषज्ञ डाक्टर हरि खड्का, मानव अधिकार आयोग अध्यक्ष सर्मिला श्रेष्ठ, रोट्र्याक्ट क्लब अफ मकवानपुरकी अध्यक्ष सृजना लामिछाने, नेपाल हृदय रोग प्रतिष्ठानका विजय वैद्यलगायतको उपस्थिति रहेको थियो । २०८० माघ १३ गते नगर कार्यसमिति गठन गरेको समाजले विभिन्न सामाजिक कामसमेत गरिरहेको छ ।