हेटौंडा–असहाय ज्येष्ठ नागरिकको सेवा गर्ने उद्देश्यले मकवानपुरको मनहरी गाउँपालिका–८ मा निर्मित आमाघर आश्रमको भौतिक निर्माणको कामले पूर्णता पाएको छ । विभिन्न तहका सरकार, दातृ निकायको सहयोगमा करिब ८ करोड खर्चिएर आश्रम भवन निर्माण भएसँगै अब आश्रमले पूर्ण क्षमतामा असहायको सेवा गर्न सक्षम बनेको हो ।
ब्रम्हकुमारी राजयोग उपसेवा केन्द्र मनहरीको व्यवस्थापनमा सञ्चालित आमाघरमा एक सय जनासम्म असहाय नागरिकलाई निःशुल्क सेवा दिन सक्षम बनेको शनिबार पत्रकारहरुसँगको भेटमा आश्रमका अध्यक्ष रामचन्द्र उप्रेतीले बताए । २०७४ सालदेखि निर्माण सुरु भएको आश्रममा ३० वटा सुविधा सम्पन कोठाहरु निर्माण गरिएको छ भने साढे तीनसय जना अट्ने सभाहल, म्युजियम, ध्यान कक्ष, पुस्तकालय स्थापना गरिएको छ । आश्रमको भवन ३ कट्ठा जग्गामा फैलिएको छ भने आश्रमसँगै १२ बिगाहा जग्गामा पिस पार्क निर्माण भएको छ । पार्कको डिपिआरअनुसारका अन्य संरचना गर्ने कामसमेत भइरहेको छ ।
आध्यात्मिक चिन्तनमार्फत मानिसलाई खुसी र सुखी बनाउन आमाघर तल्लीन रहेको आश्रमका अध्यक्ष उप्रेतीले बताए । कोही ज्येष्ठ नागरिक सहाराबिहीन भएको पाइएमा आफूहरु उहाँहरुलाई सेवा गर्न तयार रहेको उप्रेतीले बताए । असहायलाई रेखदेख र लालनपालनका अतिरिक्त आमाबुबाको महत्वबारे बालबालिकामा बुझाउने कार्यक्रमहरु प्नि आगामी दिनमा राखिने उनको योजना छ ।
आश्रममा हाल ९ जना आमा, ७ जना बुबा र ४ जना भाइले सेवा लिइरहेको ब्रम्हकुमारी राजयोग सेवा केन्द्रका विजय भाइले जानकारी दिए । पत्रकारहरुसँगको अन्तरक्रियामा मनहरी गाउँपालिकाका अध्यक्ष रन्जन कालाखेतीले आमाघर आश्रममा पालिकाका साथै संघ र प्रदेश सरकारलेसमेत लगानी गरिरहेको र आगामी दिनमा पिस पार्कको संरचना थप गर्न स्थानीय सरकारले काम गर्ने बताए । आमाघर आश्रम र पिसपार्कले मनहरीको पहिचान सशक्त बनाउन सहयोग पुगेको भन्दै उनले खुसी व्यक्त गरे । पत्रकारसँगको अन्तरक्रिया कार्यक्रमकैबीच अग्रज पत्रकार जगदिश शर्मा, नवराज शर्मा र ईश्वर जोशीलाई आश्रमले सम्मानसमेत गरेको थियो ।


