हेटाैंडा- जनतामा बढ्दै गएको निराशालाई भरोसामा बदल्न भूमिका खेल्नेलगायतका निर्णय गर्दै नेपाली कांग्रेस बागमती प्रदेश बैठक चितवनकाे साैराहामा सम्पन्न भएकाे छ । बिहीबार भएकाे दशाैँ बैठकले व्यवस्था परिर्वतनका लागि भएको आन्दोलनमा मृत्यू तथा घाइते भएकाको परिवारको आयआर्जन, शिक्षा, स्वास्थ्य, रोजगारीलाई उच्च प्राथमिकतामा राखेर काम गर्न नेपाली काँग्रेसले नेतृत्व गरेको प्रदेश सरकार र पालिकाका प्रमुखहरुलाई निर्देशन दिने निर्णय पनि गरेकाे छ ।
चितवनलाई आर्थिक तथा व्यापारिक केन्द्रको रुपमा विकास गर्न सडक सञ्चालन विस्तारको लागि तीनै तहको सरकारलाई आग्रह गर्ने निर्णय पनि गरेको छ । बैठकको निर्णय सार्वजनिक गर्न शुक्रबार आयोजित पत्रकार सम्मेलनमा प्रदेश समितिका सभापति ईन्द्र बानियाँले उत्तरी नाका खोली चितवनको माडी हुँदै रसुवा देखि गल्छी सम्म सडक विस्तार गरी चितवनलाई आर्थिक व्यापारिक केन्द्रको रुपमा विकास गर्न सरकारलाई आग्रह गर्ने निर्णय भएको बताए । राष्ट्रिय गौरवका योजनालाई प्राथमिकता दिएर काम गर्न काँग्रेसबाट केन्द्र र प्रदेश सरकारमा सहभागी जनप्रतिनिधिहरुलाई निर्देशन दिने निर्णय भएको बताए ।
प्रदेशलाई समृद्ध बनाउन स्थानीय र प्रदेश सरकारको सम्बन्धलाई मजबुत बनाउने, युवाहरुलाई आयआर्जन र रोजगारीसंग जोड्न पार्टीको तर्फबाट भूमिका खेल्ने, पार्टीको क्रियाशिल सदस्यता बृद्धि र कांग्रेसलाई जनतासंग जोड्ने गरी आगामी कार्यदिशा तय गर्ने निर्णय भएको प्रदेश सभापति बानियाँले बताए । वर्तमान सत्ता गठबन्धनको सार्थकताको लागि संविधान संशोधन गरेर दिगो शान्ति र सुशासन स्थापित गर्न सरकारलाई निर्देशनात्मक रुपमा आग्रह गर्ने निर्णग भएको उनले बताए । बागमती प्रदेश आम्दानी र जनसंख्याको हिसाबले महत्वूर्ण प्रदेश सरकारको भन्दै सभापति बानियाले प्रदेशलाई समृद्ध बनाउने गरी विकासका योजना निर्माण र पार्टीको आगामी कार्यदिशा तय गर्ने निर्णग भएको बताए ।


