हेटौंडा–महालक्ष्मी विकास बैंकले आफ्नो सामाजिक उत्तरदायित्व पूरा गर्ने क्रममा स्थापित मातृभूमि साहित्य पुरस्कार २०८० मकवानपुरे महाकाव्यकार मुना अर्याल धिताललाई प्रदान गरिएको छ । ५१ हजार राशीको २१ औँ पुरस्कार मकवानपुरे महाकाव्यकार धिताललाई शनिबार एक कार्यक्रमकाबीच प्रदान गरिएको हो ।
बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछाने, महालक्ष्मी विकास बैंकका क्षेत्रीय गभर्नर शम्भु पराजुली, मातृभूमि साहित्य समाज मकवानपुरका अध्यक्ष कृष्ण दाहाललगायतले धिताललाई नगदसहित पुरस्कृत गरेका हुन् । हेटौंडामा रही साहित्य सेवा गरिरहेकी महाकाव्यकार मुना अर्याल धितालको ‘महाकाश’ र ‘आत्मसलिल’ गरी दुइवटा महाकाव्य प्रकाशनमा रहेका छन् । महालक्ष्मी विकास बैंक लिमिटेड र मातृभूमि साहित्य समाज मकवानपुरले संयुक्तरुपमा बर्सेनि यो पुरस्कार प्रदान गर्दै आएको छ ।
सामाजिक उत्तरदायित्वलाई सक्रिय रुपमा पूरा गर्ने उद्देश्यले २०५९ देखि नै बैंकले साहित्य क्षेत्रमा योगदान पु¥याउने व्यक्तित्वहरूलाई सम्मान तथा पुरस्कृत गर्दै आइरहेको बैंकका शाखा प्रबन्धक अनन्तराज धितालले जानकारी दिए । त्यसैगरी मातृभूमि समाजको संयोजनमा समाजसेवी ईश्वर मैनालीका पिताको स्मृतिमा स्थापित केशवलाल स्मृति मातृभूमि पत्रकारिता पुरस्कार–२०८० मकवानपुरका पत्रकार माधव न्योपानेलाई प्रदान गरिएको छ । न्योपानेलाई सम्मानपत्रसहित दश हजार नगद प्रदान गरिएको थियो । त्यस्तै समाजले मकवानपुर श्री सम्मानबाट मकवानपुरका अग्रज शिक्षासेबी बद्रीनाथ शर्मा अर्याललाई सम्मानित गरिएको छ ।
मातृभूमि साहित्य समाज मकवानपुरका अध्यक्ष कृष्णप्रसाद दाहालको अध्यक्षतामा भएको कार्यक्रमकाबीच मकवानपुरका करिब दुइ दर्जन साहित्यकारले गजल, कविता, मुक्तकलगायत साहित्यिक रचना प्रस्तुत गरेका थिए ।