हेटौंडा– बाराको निजगढ स्थायी निवासी भएर पनि लामो समयदेखि मकवानपुरलाई केन्द्र थलो बनाई कर्म गरिरहेका युवा कवि यश लामाले पहिलो कविता कृति ‘बहिष्कृत आवाज’ सार्वजनिक गरिएको छ । शनिबार एक कार्यक्रमकाबीच कवि लामाको कविता सङ्ग्रह विमोचन गरिएको हो ।
समाजमा पछाडि पारिएका, जातीय, भाषिक, लैङ्गिक हिसाबले विभेद भोगिरहेका समुदायको आवाज बोल्ने उनको कविता सङ्ग्रहमा ४५ वटा कविता समेटिएका छ । उनको सङ्ग्रह सांग्रिला मिडिया ग्रुपले प्रकाशन गरेको हो । कविता सङ्ग्रह विमोचनपछि बोल्दै कवि लामाले कविता सङ्ग्रहमा सामाजिक रूपमा पछाडि परेका, समाजबाट बहिष्करणमा परेका वर्गको आवाज कवितामार्फत प्रस्तुत गर्ने प्रयास गरिएको बताए । उनको सङ्गहका ४५ कवितालाई छ वटा खण्डमा विभाजन गरिएको छ । लामाले करिब १० वर्ष अवधिमा लेखिएका कवितालाई ‘बहिष्कृत आवाज’ मा समावेश गरेका हुन् । लामाको ‘बहिष्कृत आवाज’ कविता सङ्ग्रहमाथि मकवानपुरगढी गाउँपालिकाकी उपाध्यक्ष मानकुमारी नेपाली र डा. रामजी रामले विमर्श गरेका थिए ।
पुस्तकमाथि बोल्दै डा.रामले कविले कविता मार्फत आफ्नै आवाज बोलेको भन्दै उच्च प्रशंसा गरे । कविता सङ्ग्रह समाजको सचित्र वर्णन गर्न सफल रहेको उनको भनाइ रहेको थियो । त्यस्तै मकवानपुरगढी गाउँपालिकाकी उपाध्यक्ष मानकुमारी नेपालीले नेपालीले सरल, सामान्य र सबैले बुझ्न सक्ने गरी कविता सङ्ग्रह ल्याएको भन्दै कवि लामाप्रति आभार व्यक्त गरिन् । जीवन, अनुभूत गर्न सक्नेगरी लेखिएको पुस्तकमा भोगाइलाई शब्दमार्फत व्याख्या गरिएको उनको भनाइ थियो । कार्यक्रममा साहित्यकार निमेश निखिलले सामाजिक रूपमा पछाडि परेका वर्गको आवाज उजागर गरेको र किनारामा परेकालाई शब्द मार्फत उजार गरेको बताए ।