हेटौंडा–बागमती प्रदेशसभाले तीन वटा ऐन पारित गरेको छ । सोमबार बसेको प्रदेशसभा बैठकले २ वटा नयाँ विधेयक र एक संशोधन विधेयकसहित ३ वटा विधेयक पारित गरेको हो ।
प्रदेशसभा बैठकबाट प्रदेश स्वास्थ्य सेवा विधेयक २०७५ संशोधन २०८१, प्रदेश कृषि विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८१ र प्रदेश हस्तकला ग्राम सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकलाई आवश्यक प्रक्रिया पूरा गरी ऐनको रुप दिएको हो ।
स्वास्थ्य मन्त्री किरण थापामगरले प्रदेश कृषि विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकलाई शिक्षा स्वास्थ्य तथा कृषि समितिले गरेको निर्णयको प्रतिवेदन सहित प्रदेशसभामा पेश गरेकी थिइन् । उनको प्रस्तावमाथि कुनै सदस्यले पनि छलफलमा भाग लिएनन् । उक्त संशोधन विधेयक सर्वसम्मतले पारित भयो ।
त्यस्तै कृषि तथा पशुपंक्षी विकास मन्त्री प्रकाश श्रेष्ठले शिक्षा स्वास्थ्य तथा कृषि समितिको प्रतिवेदनसहित विधेयकलाई पारित गर्न प्रस्ताव पेश गरेकोमा उक्त प्रस्तावमा कसैले पनि छलफलमा भाग लिएन । सभामुख भुवन पाठकले सर्वसम्मतले उक्त विधेयक पारित भई ऐनको रुप लिएको घोषणा गरे । कृषिलाई आधुनिकीकरण, विविधीकरण, व्यावसायिकरण, सामुहिकरण, औद्योगिककरणमार्फत कृषि उत्पादन र उत्पादकत्व वृद्धि गर्दै रोजगारी सिर्जना गर्ने र दीगो आर्थिक विकासमा टेवा पु¥याई, कृषि क्षेत्रमा प्रवाह हुने सेवा सुविधा र कार्यक्रम न्यायोचित र प्रभावकारी रुपमा सञ्चालन गर्ने उद्देश्यले ऐन बनाइएको प्रस्तावनामा उल्लेख छ ।
यस्तै उद्योग वाणिज्य भूमि तथा प्रशासन मन्त्री सुकमाया तामाङले सोमबारको बैठकमा उद्योग पर्यटन तथा वातावरण समितिको प्रतिवेदनसहित प्रदेश हस्तकला ग्राम स्थापना तथा सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रदेशसभामा पेश गरेकी थिइन् । उनको प्रस्तावमाथि छलफलमा भाग लिँदै प्रदेशसभा सदस्य रामकृष्ण चित्रकारले प्रदेश हस्तकला ग्राम स्थापना गर्न सार्वजनिक निजी तथा तथा समुदायको सहभागितालाई समेट्नको लागि विधेयक ल्याइएको बताए । हस्तकलाको विकासको लागि यो विधेयक महत्वपूर्ण रहेको उनको भनाइ थियो । ऐनले हस्तकलाको सामानहरुलाई ब्रान्डिङ गर्ने काममा सहयोग हुने उनले विश्वास दिलाए । उक्त विधेयक पनि सर्वसम्मतबाट पारित गरिएको थियो ।
हस्तकलालाई बागमती प्रदेशको प्रमुख अर्थतन्त्रको रुपमा विकसित गरी स्वदेशी पुँजी, स्थानीय सीप तथा कला र स्रोतको अधिकतम प्रयोग गराई स्वदेशमा निर्मित हस्तकलाका वस्तुहरुको पहिचानलाई विश्व बजारमा स्थापित, स्वदेशमा समेत हस्तकला सामाग्री प्रयोग वृद्धि गर्न, छरिएर रहेका घरेलु तथा लघु उद्योगको उत्पादकत्वको वृद्धि गर्न ऐन बनाइएको ऐनको प्रस्तावनामा उल्लेख छ ।


