Search
Close this search box.

आजदेखि सुकिला नोट साट्न पाइने

नेपाल राष्ट्र बैंकले दसैँलाई लक्षित गरी सर्वसाधारणका लागि आजदेखि सफा र सुकिलो बैंक नोट सटही सुविधा दिन थालेको छ। राष्ट्र बैंकका सहायक प्रवक्ता डा डिल्लीराम पोख्रेलका अनुसार राष्ट्र बैंकको केन्द्रीय तथा प्रादेशिक कार्यालय र सबै बैंक तथा वित्तीय संस्थाका शाखाबाट यही असोज २२ गतेसम्म सफा नोट साट्न सकिने छ।

राष्ट्र बैंकका अनुसार सर्वसाधारणले आफ्नो खाता रहेको बैंक वा पायक पर्ने नजिकको जुनकुनै बैंक तथा वित्तीय संस्थामा गएर सुकिलो नोट साट्न सक्नेछन्। एकजना व्यक्तिले रु पाँच, दश, बीस, पचास र एक सय दरका नोटसहितको रु १८ हजार पाँच सयसम्म साट्न पाउनेछन्।

राष्ट्र बैंकले विगतका वर्षका एकपटक पनि प्रयोगमा नआएका नयाँ नोटको सटही दिने गरेकोमा यसपटक भने प्रयोगमा आइसकेका सुकिलो र सफा नोट साट्न सकिने जनाएको छ। दसैँ अगाडि सटही गरिएका नोट चाडबाड सकिएपछि बैंक तथा वित्तीय संस्थामा फिर्ता आउने र त्यसपछि ती नोटको माग ज्यादै न्यून हुने भएकाले ढुकुटीमा लामो समय थन्क्याएरै राख्नुपर्ने अवस्था रहेको राष्ट्र बैंकले जनाएको छ।

नेपाली नोटको कागज ‘कटन बेस्ड’ हुने र लामो समय प्रयोगबिहीन भइ ढुकुटीमै भण्डारण हुँदा ती नोटमा चिसो, ओस तथा अपर्याप्त हावा र प्रकाशका कारण ढुसी आउने गर्दछ। यस्तो हुँदा नोटको आयु समेत घट्दै जाँदा पुनःप्रयोग गर्न योग्य नहुने अवस्था समेत आउनसक्ने बैंकको भनाइ छ।

साथै, बजारमा कारोबारका लागि नगद नोट जति धेरैको हात हातमा पुगेर बैंकमा फिर्ता आयो त्यति नै नोटको प्रभावकारी उपयोग भएको मानिन्छ। यसकारण नोटको छपाइ, भण्डारण, ओसारपसार र धुल्याउने जस्ता बैंक नोट व्यवस्थापनका आधारभूत कार्यलाई मितव्ययी एवं प्रभावकारी बनाउन समेत सुकिलो नोटको उपयोग बढाउनु आवश्यक भएको राष्ट्र बैंकको भनाइ छ।

चाडबाडका समयमा मुख्यतयाः रु पाँच, १०, २०, ५० र एक सय दरका नोटको माग अत्यधिक हुने गरेको छ। साना दरका यस्ता नोटको ‘होल्डिङ्ग’ लागत समेत न्यून हुने हुँदा सर्वसाधारण तथा व्यावसायिक क्षेत्रले आवश्यकताभन्दा बढी नोट सटही गरी क्रमशः कारोबारको आवश्यकता पूरा गर्ने तथा घरमै राख्ने प्रचलन समेत रहेको पाइन्छ।

पाँच सय र एक हजार दरका नोटको हकमा भने बजारमा वृद्धि हुने चाडबाडलक्षित कारोबार अनुरुप माग हुने गरेको छ। देशभर नोटको आपूर्ति गर्ने र पुराना तथा मैला नोटलाई खिचेर प्रतिस्थापन गर्दै जाने कार्य नेपाल राष्ट्र बैंकअन्तर्गतको मुद्रा व्यवस्थापन विभागबाट हुँदै आएको छ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan