हेटौंडा। रेशमबहादुर धिताल आफूलाई द्वन्द्वपीडितका रूपमा चिनाउँछन्। विगतमा अपहरणलगायतका कठिन परिस्थिति भोगेको र सम्पत्तिसमेत गुमाएको बताउने उनी अहिले आर्थिक संकट र कानुनी झन्झटमा परेको गुनासो गर्छन्। साथीलाई आर्थिक समस्यामा सहयोग गर्ने क्रममा आफ्नो नामबाट काटिएको ६ लाख ३६ हजार रुपैयाँको चेकका कारण आफूले दुई वर्षदेखि तनाव भोग्नुपरेको उनको भनाइ छ।
धितालका अनुसार सिन्धुली जिल्लाको ध्यामलेख वडा नम्बर ३ स्थायी घर भई हाल काठमाडौंको सीतापाइला वडा नम्बर ५ मा बस्दै आएका ६६ वर्षीय निर्मलकुमार तामाङ र उनका छोरा सुवर्णकुमार तामाङले आफू आर्थिक समस्यामा परेको भन्दै सहयोग मागेका थिए। लामो समयदेखिको चिनजान र साथीको सम्बन्धका कारण उनीहरूमाथि विश्वास गरेको धिताल बताउँछन्।
“साथीले समस्या पर्यो, व्यवहार मिलाउन सहयोग गरिदिनुपर्यो भन्यो। विश्वास गरेर आफ्नो नामबाट चेक काटेर दिएँ,” धितालले भने, “तीन महिनाभित्र रकम मिलाउने भनिएको थियो। तर दुई वर्ष बितिसक्दा पनि पैसा फिर्ता भएको छैन।” उनका अनुसार उक्त चेक तेस्रो पक्षलाई तिर्नुपर्ने रकमसँग सम्बन्धित थियो। चेकको रकम भुक्तानी नभएपछि चेक बाउन्ससम्बन्धी कानुनी प्रक्रिया अघि बढेको र आफूले समेत मुद्दा तथा प्रहरी कार्यालय धाउनुपर्ने अवस्था आएको उनको भनाइ छ। धितालका अनुसार चेकसम्बन्धी विवादले कानुनी रूप लिएपछि उनले प्रहरी कार्यालय र अदालतको प्रक्रिया सामना गर्नुपर्यो। मुद्दाका कारण धरौटी राख्नुपरेको र दुई वर्षको अवधिमा पाँच लाख रुपैयाँभन्दा बढी खर्च भएको उनी बताउँछन्।
“साथीलाई सहयोग गरेको थिएँ। तर आज आफैँले कानुनी समस्या भोग्नुपरेको छ,”उनले दुःखेसो पोखे, “मुद्दाकै कारण कामसमेत गुमाएँ। अब कसरी जीवन चलाउने भन्ने चिन्ता छ।” धितालले मकवानपुरको चुच्चेखोलास्थित माछा फार्ममा काम गर्दै आएको र यही विवादका कारण रोजगारी गुमाउनुपरेको बताएका छन्। आम्दानीको आधार गुमेपछि दैनिक जीवनयापन झनै कठिन बनेको उनको भनाइ छ। उनका अनुसार आर्थिक संकटका कारण सुनचाँदी तथा अन्य सम्पत्तिसमेत गुमाउनुपरेको छ। आफूसँग भएको जग्गाको लालपुर्जा दिइएको भए पनि पछि आफूलाई झुक्याएर जग्गा बिक्री गरिएको उनको आरोप छ। यस विषयमा भने सम्बन्धित कागजात र कारोबारको विवरणबाट थप पुष्टि गर्न आवश्यक छ।
धितालका अनुसार निर्मलकुमार र सुवर्णकुमारले रकम फिर्ता गर्ने आश्वासन दिँदै आएका छन्। तीन दिनअघि पनि कुरा हुँदा पैसा दिने र आफू आउने बताएको उनले सुनाए। तर पटक–पटक आश्वासन पाए पनि रकम हात नपरेको उनको गुनासो छ।
“दुई वर्ष भयो, आज दिन्छु, भोलि दिन्छु भन्दै झुलाइरहेका छन्,” उनले भने, “प्रहरीले खोज्दा सम्पर्कमा आउनुको सट्टा मोबाइल नम्बर परिवर्तन गर्ने र अरूको सिम प्रयोग गर्ने गरेको भन्ने जानकारी पाएको छु।”
धितालका अनुसार बाबु–छोराविरुद्ध जिल्ला प्रहरी कार्यालय मकवानपुरमा एक वर्षअघि नै जाहेरी दिएका छन्। तर आफूले अपेक्षा गरेअनुसार न्याय पाउन नसकेको उनको गुनासो छ। उनले रकम फिर्ता गराउन र आफूलाई परेको आर्थिक तथा कानुनी क्षतिको विषयमा निष्पक्ष छानबिन गर्न सम्बन्धित निकायसँग माग गरेका छन्।
आर्थिक समस्यासँगै धितालले स्वास्थ्यमा पनि समस्या भोगिरहेको बताएका छन्। उनका अनुसार अहिले उनी उच्च रक्तचाप, मधुमेह र चिन्तासम्बन्धी समस्याका लागि औषधि सेवन गरिरहेका छन्। आर्थिक असुरक्षा, मुद्दाको तनाव र रोजगारी गुमाउनुको पीडाले जीवन झन् कठिन बनेको उनी बताउँछन्। “मसँग अब बाँच्ने आधार नै छैन जस्तो लाग्छ। श्रीमती पनि बिरामी हुनुहुन्छ। कहिलेकाहीँ जीवन कसरी अगाडि बढाउने भन्ने चिन्ताले निकै सताउँछ,”उनले भावुक हुँदै भने।
यस विषयमा निर्मलकुमार तामाङ र सुवर्णकुमार तामाङको पक्ष, चेकको वास्तविक कारोबार, रकम फिर्ता गर्ने सहमति तथा प्रहरीमा दर्ता भएको जाहेरीको वर्तमान अवस्थाबारे सम्बन्धि प्रतिक्रिया आएको छैन् । साथीलाई गरेको विश्वासले आफूलाई आर्थिक, सामाजिक र मानसिक रूपमा कमजोर बनाएको बताउने धिताल अहिले न्यायको प्रतीक्षामा छन्। उनले सम्बन्धित निकायसँग घटनाको निष्पक्ष छानबिन गरी आफूले भोगेको समस्याको समाधान गरिदिन आग्रह गरेका छन्।
हिटाबाट साभार

