हेटौंडा– बागमती प्रदेशको प्रदेश विपद् व्यवस्थापन कार्यकारी समितिले बाढी पहिरोलगायत प्राकृतिक विपत्तिबाट भएको क्षतिको क्षतिपूर्ति, उद्दार र राहतको लागि जिल्लाहरुमा करिब ३ करोड रुपैयाँ निकासा गर्ने निर्णय गरेको छ । कार्यकारी समितिको सोमबारको बैठकले जिल्लाको प्रारम्भिक क्षतिको आधारमा जिल्लागत रुपमा २ करोड ९५ लाख रुपैयाँ तत्काल पठाउने निर्णय गरेको हो ।
राष्ट्रिय आपतकालीन कार्यसञ्चालन केन्द्रको सोमबारसम्मको तथ्यांकको आधारमा विपद्बाट बढी क्षति भएको देखिएका काभ्रेपालञ्चोक जिल्लालाई ६० लाख, धादिङ जिल्लालाई ५० लाख, ललितपुर जिल्लालाई ३० लाख, काठमाडौं सिन्धुपाल्चोक जिल्लालाई २०÷२० लाख रुपैयाँ सम्बन्धित जिल्लाको जिल्ला विपद व्यवस्थापन कोषमा पठाउने निर्णय गरिएको आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछानेले जानकारी दिए । समितिले दोलखा, रामेछाप, सिन्धुली, मकवानपुर, भक्तपुर जिल्लाहरुलाई दश/दश लाखका दरले राहत वितरण गर्ने प्रयोजनका लागि प्रदेश विपद् व्यवस्थापन कोषबाट रकम पठाउने निर्णय गरेको उनले बताए । यसैगरी प्रदेश विपद व्यवस्थापन कोष परिचालन कार्यविधिअनुसार विपद्पछिको खोज, उद्धार तथा प्रतिकार्य सम्बन्धी कार्य गर्नका लागि १३ वटा जिल्ला विपद् व्यवस्थापन कोषमा थप पाँच/पाँच लाखका दरले पैसट्ठी लाख रुपैयाँ निकासा गर्ने निर्णय भएको पनि उनले बताए ।
समितिको बैठकले सम्बन्धित जिल्लाका स्थानीय तहहरु तथा जिल्लास्थित कार्यालयहरुसँगको समन्वयमा विपद्बाट भएको मानवीय, पशुचौपया तया कृषिवाली, घरगोठको क्षति, उद्योग व्यवसायहरु, सार्वजनिक सम्पत्ति (सडक, पुल, विद्युतगृह, स्वास्थ्य चौकी, विद्यालय, सरकारी कार्यालय) तथा प्रभावित परिवार लगायतको संरचनाहरुको क्षतिको अद्यावधिक विवरण संकलन गरी प्रदेश आपतकालीन कार्यसञ्चालन केन्द्रमा पठाउन अनुरोध गर्ने निर्णय पनि गरेको छ ।
प्रदेश राजमार्ग अन्तरगत रहेका अवरुद्ध सडक तत्काल सूचारु गर्न भौतिक पूर्वाधार विकास मन्त्रालयले सबै निकायको सहयोग लिई आवश्यक प्रक्रिया अगाडि बढाउने जनाइएको छ । विपदबाट क्षति भएका कृषिबाली तथा पशुचौपायाको तथ्याङ्क संकलन गरी आवश्यक राहतको व्यवस्था कृषि तथा पशुपन्छी विकास मन्त्रालयले मिलाउने बताइएको छ । सामाजिक विकास मन्त्रालयले प्रदेश भित्र रहेका विद्यालयहरुको क्षतिको अवस्था संकलन गरी तत्काल मर्मत सम्भार गर्नुपर्ने भए सोको कार्य प्रारम्भ गर्न भनिएको छ ।
खानेपानी, ऊर्जा तथा सिंचाइ मन्त्रालयले खानेपानीको पहुँचवाट प्रभावित परिवारको तथ्याङ्क संकलन गरि आवश्यकताअनुसार खानेपानी उपलब्ध गराउने र स्वास्थ्य मन्त्रालयले विपद्का कारण घाईते व्यक्तिहरुको शीघ्र निःशुल्क उपचारका चिकित्सकीय टोली तथा आवश्यक औषधी तथा उपकरणको व्यवस्थापन गर्ने मन्त्री लामिछानेले बताए । हेटौंडाबाट काठमाडौं जोड्ने हेटौंडा कुलेखानी फाखेल सडक दुइदिनभित्रै सञ्चालन गर्न प्रदेश सरकारले चासो दिएको छ । कुलेखानी सिस्नेरी खण्डमा ठुलो क्षति भएकाले तत्काल सडक सञ्चालन गर्न सकिने अवस्था नरहेको पनि आन्तरिक मामिला तथा कानुन मन्त्री लामिछानेले बताए । संघीय सरकारअन्तर्गत रहेका सडकको तत्काल मर्मतका लागि संघीय सरकारसँग समन्वय गर्ने निर्णय पनि प्रदेश विपद् व्यवस्थापन कार्यकारी समितिले गरेको छ ।
