हेटाैंडा-वर्तमान सत्ता साझेदार नेपाली कांग्रेस र नेकपा एमालेकाे दुई दलीय संयन्त्रलाई जिल्ला तहमा विस्तार गरिने भएकाे छ । नेपाली कांग्रेस र नेकपा एमालेबीच बनेको बागमती प्रदेशस्तरीय दुई दलीय संयन्त्रले प्रदेशका जिल्लाहरुमा पनि संयन्त्र निर्माण गर्न निर्देशन दिएको हाे । प्रदेशस्तरीय दुई दलीय संयन्त्रको आज ललितपुरमा बसेको पहिलो बैठकले यस्तो निर्देशन दिएको हो ।
नेपाली कांग्रेस बागमती प्रदेश सभापति ईन्द्रबहादुर बानियाँको सभाध्यक्षतामा आइतबार बसेको बैठकले बागमती प्रदेशका तेह्रवटै जिल्लामा संयन्त्र निर्माण गर्न दुबै दलका जिल्ला तहसँग समन्वय गरी यथाशिघ्र गठन गर्न निर्देशन दिने निर्णय गरेको संयन्त्रका सचिव राजु नेपालले जानकारी दिए ।
बैठकले दुई दलले एक/एक महिना पालो पालो बैठकको संयोजन गर्ने र २०८१ साल मंसिर मसान्तसम्मको बैठकको संयोजन नेपाली कांग्रेसले गर्ने, संयन्त्रको सचिवालयमा नेपाली कांग्रेस र नेकपा एमालेका तर्फवाट एक/एक जना रहने, संयन्त्रको बैठक महिनामा कम्तीमा एक पटक अनिवार्य बस्ने र आवश्यकता अनुसार थप बस्न सक्ने र दलीय संयन्त्र र बागमती प्रदेश सरकारका मन्त्रीहरुको संयुक्त बैठक आगामी २०८१ मंसिर ३ गते हेटौंडामा बसी बागमती प्रदेश सरकार गठन भएको एक सय दिनको उपलब्धी र आगामी कार्यक्रमका बारेमा जानकारी लिने निर्णय गरेको छ ।
बैठकमा नेपाली कांग्रेसका तर्फबाट प्रदेश सभापति ईन्द्रबहादुर बानियाँ, कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता एवं मूख्यमन्त्री बहादुरसिंह लामा तामाङ, कांग्रेस बागमती प्रदेशका उपसभापति चन्द्र महर्जन, नेकपा एमालेका तर्फबाट बागमती प्रदेश इन्चार्ज राजन भट्टराई र प्रदेश अध्यक्ष कैलाश ढुङ्गेलको सहभागिता रहेको थियो ।


