हेटौंडा–नेपाली समाजमा रहेको बोक्साबोक्सी कुप्रथाको नाममा समाजमा भइरहेको अत्याचार र त्यसविरुद्धको संघर्षको कथा बोकेको चललिच अग्निदहन आगामी मंसिर ७ गतेबाट प्रदर्शनमा आउने भएको छ । चलचित्र विकास बोर्डले ‘विशेष चलचित्र अवार्ड’ समेत प्रदान गरेको अग्निदहन मंसिर ७ गतेबाट देशभरका सिनेमा हलहरुमा प्रदर्शन हुन लागेको सोमबार हेटौंडामा पत्रकार सम्मेलनमार्फत निर्माण पक्षले जानकारी दिएको हो ।
हलमा प्रदर्शनअघि यसलाई नेपाल र भारतका विभिन्न ठाउँमा च्यारिटी प्रदर्शनसमेत गरिसकिएको छ । ‘मान्छे बोक्सी हुन्न कहिल्यै राष्ट्रिय जागरण प्रतिष्ठान’ले चलचित्र निर्माण गरेको हो । करिब एक करोडको लगानीमा निर्माण गरिएको चलचित्रमा लोकमणि पौडेलको कथा, पटकथा तथा संवाद र कोविदशरण उपाध्यायको परिकल्पना रहेको छ । घनश्याम लामिछानेले चलचित्रको निर्देशन गरेका हुन् ।
चलचित्रमा प्रकाश घिमिरे, प्रमिला तुलाचन, माओत्से गुरुङ, अनुपमा भण्डारी, तुलसी क्षेत्री, विष्णु बास्तोला, निर्मल लामिछाने र तारा गुरुङको अभिनय छ । चलचित्रका संरक्षक मोहनराज शर्मा पौडेलले बोक्साबोक्सी कुप्रथाको उन्मुलन गर्ने अभियानमा चलचित्र सार्थक हुने विश्वास व्यक्त गरे । नेपाली समाजमा भइरहेको बोक्सी कुप्रथाको यथार्थ चित्रण गरी चलचित्र बनाइएकाले सबैले चलचित्र हेर्न उनले आग्रह गरे । पत्रकार सम्मेलनमा चलचित्रका कलाकार प्रकाश घिमिरेले चलचित्रमा आफ्नो भूमिका र आफ्नो विचार मिलेकाले चलचित्रमा काम गर्दा निकै आनन्द आएको बताए । चलचित्रलाई भोजपुरी र मैथिली भाषामा डबिङ गरिसकिएको छ भने हिन्दीमा पनि डबिङ भइरहेको निर्माण पक्षले जनाएको छ ।
चलचित्र पत्रकार संघ मकवानपुरका अध्यक्ष कपिल खड्काको अध्यक्षतामा पत्रकार सम्मेलन भएको थियो ।