हेटौंडा–आगामी मंसिर १६ गते हुन लागेको स्थानीय तहको उपनिर्वाचनमा हेटौंडा–१२ नम्बर वडाको वडाध्यक्ष पदका लागि १४ जनाले मनोनयन दर्ता गरेका छन् । उपनिर्वाचनका लागि आइतबार प्रमुख राजनीतिक दलका साथै साना दल र स्वतन्त्र उम्मेदवारले पनि उम्मेदवारी दर्ता गराएका हुन् ।
मुख्य निर्वाचन अधिकृत अवानी मैनाली भट्टराईका अनुसार वडाध्यक्ष पदका लागि नेपाली कांग्रेसको तर्फबाट अर्जुन प्रसाद तिवारी, नेकपा एमालेबाट राजेश नगरकोटी, नेकपा माओवादी केन्द्रको तर्फबाट रविन प्रधान, राप्रपाको तर्फबाट प्रेमबहादुर भ्लोन लामाले उम्मेदवारी दर्ता गराएका छन् । नेकपा एकीकृत समाजवादीबाट बलराम बल, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट आशाबीर बल, नेमकिपाबाट फुलमाया तितुङ र जसपाबाट छबिलाल वाइबा, मंगोल नेशनल अर्गनाइजेशनबाट दीपा लामाले पनि मनोनयन पत्र दर्ता गराएका छन् ।
यसैगरी, स्वतन्त्र तर्फबाट युनेश लामा स्याङ्तान, अर्जुन घलान, कुमार पोखरेल, गीता कुमारी नेवार र छत्रप्रकाश अधिकारीले वडाध्यक्ष पदका लागि उम्मेदवारी दिएका छन् । निर्वाचनमा ९ राजनीतिक दल र ५ स्वतन्त्र उम्मेदवार बनेका छन् । २०७९ सालको निर्वाचनबाट वडाध्यक्ष बनेका ललित घलान जिल्ला समन्वय समिति मकवानपुरको संयोजक चुनिएसँगै हेटौंडा–१२ मा वडाध्यक्ष पद रिक्त बनेको थियो । सोही पदका लागि उपनिर्वाचनमार्फत वडाध्यक्ष चुन्न लागिएको हो ।


