Search
Close this search box.

बाढी पहिरोका कारण बागमती प्रदेशमा धान उत्पादन घट्ने अनुमान

हेटौंडा–गत भदौ ११ र १२ गतेको भीषण वर्षापछिको बाढी पहिरोका कारण भएको क्षतिका कारण बागमती प्रदेशमा यस वर्ष मंसिरे धानको उत्पादन घट्ने अनुमान गरिएको छ । वर्षायाममा लगाइएको धान खेती भित्र्याउन किसानहरु यतिबेला व्यस्त रहेका छन् । तर, बाढी पहिरोका प्रदेशका कारण विभिन्न जिल्लामा पाँच हजार हेक्टर क्षेत्रफलभन्दा बढी क्षेत्रमा धानबालीमा क्षति भएका कारण उत्पादन भने घट्ने प्रदेश कृषि मन्त्रालयको अनुमान छ ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका प्रवक्ता सुजन कडेंलले समयमै पानी परेर समयमै रोपाईं हुन पाएका कारण यसवर्ष धान उत्पादन बढ्ने अनुमान गरेको भएपनि बाढी पहिरोले क्षति गरेका कारण धान उत्पादन घट्नसक्ने बताए । बाढी पहिरोले प्रदेशका विभिन्न जिल्लामा धान खेतीमा ठुलो क्षति पुगेको उनको भनाइ छ ।

बागमती प्रदेशका १३ जिल्लाको एक लाख ११ हजार ३५१ हेक्टर क्षेत्रफलमा धान रोपिएकोमा बाढी पहिरो काकारण ५ हजार ५०३ हेक्टर क्षेत्रफलमा लगाइएको धानबाली नष्ट भएको छ कँडेलले बताए । गत वर्ष बागमती प्रदेशमा १ लाख ४ हजार ८४९ हेक्टर क्षेत्रफलमा धान खेती गरिएकोमा ४ लाख ३५ हजार मेट्रिक टन धान उत्पादन भएको थियो । यस वर्ष बाढी पहिरोका कारण कति मेट्रिकटन धान उत्पादन गिरावट आउँछ भन्नेबारे भने मन्त्रालयले अनुमान गरेको छैन ।

मन्त्रालयका अनुसार प्रदेशको मकवानपुर, नुवाकोट, ललितपुर, काभ्रे, रामेछाप, सिन्धुली, धादिङ लगाएतका जिल्लाहरुमा बाढी पहिरोले सबैभन्दा बढी धान बालीमा क्षति पु¥याएको थियो । सबैभन्दा बढी मकवानपुरमा २ हजार ९०२.८३ हेक्टरमा लगाइएको धान खेतीमा क्षति पुगेको मन्त्रालयको तथ्यांक छ । यस्तै सिन्धुलमा ८५५, काभ्रेमा ६०२.१, ललितपुरमा २११.५, नुवाकोटमा १९८.२२५, धादिङमा १८४ र रामेछापमा १५७.५५ हेक्टर क्षेत्रफलमा लगाइएको धान खेती बाढी पहिरोले क्षति गरेको बताइएको छ ।

मकवानपुरमा धान रोपाईँ हुने कुल २४ हजार २४७ हेक्टर क्षेत्रफलमा शतप्रतिशत धान रोपाईँ भएको थियो भने  यस्तै सिन्धुलीमा ११ हजार ८८, काभ्रेमा ९ हजार ९४७, ललितपुरमा ४ हजार १६३, नुवाकोटमा ११ हजार १०९, धादिङमा ११ हजार ३१२, र रामेछापमा ७ हजार ८५९ हेक्टर क्षेत्रफलमा धान रोपाईं गरिएको थियो ।

प्रदेशका सबैभन्दा बढी धान खेती हुने चितवन जिल्लामा बाढी पहिरोले कम क्षति पुगेको छ । चितवनमा यसवर्ष २४ हजार २४७ हेक्टर क्षेत्रफलमा धानखेती भएकोमा ४५ हेक्टर क्षेत्रफलको धानखेतीमा क्षति पुगेको बताइएको छ । ३ हजार ७१९ हेक्टरमा धानखेती भएको भक्तपुरमा ८५, १ हजार ४९ हेक्टर धानखेती भएको रसुवामा ६.५ र २ हजार ८१४ हेक्टर क्षेत्रफलमा धानखेती भएको दोलखामा ४ हेक्टर क्षेत्रफलको धानखेतीमा क्षति पुगेको छ । यस्तै सिन्धुपाल्चोकमा ८ हजार ५७३ हेक्टर क्षेत्रफलमा धानखेती भएकोमा त्यहाँ भने कुनै क्षतिको विवरण नआएको मन्त्रालयले बताएको छ ।

केही प्रतिक्रिया छ कि ?
यो समाचार पढेर कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan