Search
Close this search box.

धर्मका नाममा राजनीति गर्नु गलतः बानियाँ

हेटौंडा–बागमती प्रदेशका प्रदेशसभा सदस्य एवं नेपाली कांग्रेस बागमती प्रदेशका सभापति ईन्द्रबहादुर बानियाँले धर्मका नाममा राजनीति गर्न नहुने बताएका छन् । सबै धर्मलाई समान व्यवहार गर्दै आआफ्नो धर्म र संस्कृति मनाउने छुट सबैलाई भएको उनको भनाइ छ ।

हेटौंडा–१७ गैरीगाउँमा शुक्रबारबाट सुरु भएको श्रीमद बाल्मिकीय रामायण नवाह ज्ञान महायज्ञको समुद्घाटन कार्यक्रममा बोल्दै बानियाँले धर्म व्यक्तिले धारण गर्ने विषय भएकाले धर्मका नाममा अरूलाई अनादर गर्न नहुनेमा जोड दिए । उनले पूर्वीय दर्शनको सकारात्मक पक्षको प्रवर्द्धन गर्न आग्रह गरे । उनले धर्मले सत्य र ठिकको बाटोमा अघि बढ्न सुझाएको भन्दै धार्मिक व्यक्तित्वले आफुले प्राप्त ज्ञानलाई समाज सुधारमा लगाउनु जरूरी रहेको स्पष्ट पारे ।
पूर्वीय दर्शनको बैज्ञानिक र व्यवहारिक पक्षको प्रचारप्रसार गर्दै यसको मर्यादा र मानवताको पक्षलाई प्रवर्द्धन गर्नुपर्ने उनको भनाई थियो । उनले ज्ञान महायज्ञले मनस्थिति शुद्धीकरणका लागि टेवा दिने बताए । बानियाँले विगत १३ बर्षदेखि निरन्तर ज्ञान सञ्चार बृद्धाश्रममा जोडिएर यसको भौतिक पूर्वाधार सुधारका लागि काम गरेको बताउँदै यसलाई आगामी दिनमा पनि निरन्तरता दिने प्रतिवद्धता व्यक्त गरे ।

महायज्ञ मूल समारोह समितिका संयोजक लक्ष्मण कटुवालको सभाध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा– १६ का वडा अध्यक्ष रामकृष्ण कोइराला, हेटौंडा– १७ का वडा अध्यक्ष उद्धव सत्याल, लक्ष्मीपुर मन्दिरका महन्त बर्दराज भारद्वाज वाग्ले, धार्मिक व्यक्तित्व नारायण स्वामी, कथावाचिका गोदादेवी आण्डाल, मूल समारोह समितिका सचिव नवराज न्यौपाने लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

श्रीमद भागवत ज्ञान सञ्चार बृद्धाश्रम अक्षयकोष स्थापनार्थ आजबाट शुरू भएको नवाह ज्ञान महायज्ञ मंसिर १५ गतेसम्म संचालन हुनेछ ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan