Search
Close this search box.

भोगटेको बोक्राबाट बनेको तितौरा अमेरिकादेखि अष्ट्रलियासम्म

हेटौंडा–अमिलो र गुलियो स्वादको समिश्रण रहेको भोगटे फलको भित्री केस्रा साँधेर वा त्यतिकै खाने गरिन्छ । त्यसको बाक्लो बोक्राको भने कुनै प्रयोग नगरी त्यतिकै फालिन्छ । यसरी प्रयोग नै नगरी फालिँदै आएको भोगटेको बोक्राबाट अत्यन्तै स्वादिलो तितौरा बनाएर अमेरिकादेखि अष्ट्रेलियासम्म निर्यात भइरहेको छ भन्ने सुन्दा केही अनौठो लाग्न सक्छ । तर, काभ्रेपलान्चोक बनेपाकी कमला लामाले विगत पाँच वर्षदेखि भोगटेको बोक्राबाट क्यान्डी तितौरा बनाएर देश तथा विदेशमा बिक्री गरिरहेकी छन् ।

जम्भला कृषि फर्म उद्योगमार्फत जम्भला ब्रान्डको भोगटेको क्यान्डी तितौरा, किबी क्यान्डी, लप्सी क्यान्डीको माग धान्नै गाह्रो छ । उनको क्यान्डीको नेपालमा मात्रै नभई विदेशमा पनि उत्तिकै रुचाइएको छ । कमलाकी जेठी छोरी अमेरिकामा बसी आमाले उत्पादन गरेको उत्पादनको डिजिटल मार्केटिङ गर्छिन् । नेपालबाट सप्लायर्समार्फत मासिक लाखौँ रुपैयाँको क्यान्डी तितौरा अमेरिका, जापान, अष्ट्रेलियालगायतका देशमा निर्यात हुने गरेको उद्योग सञ्चालिका लामा बताउँछिन् । ‘सबैले अति मीठो मानेका छन् । नेपालमा त माग छँदैछ, विदेशमा पनि उत्तिकै माग हुन्छ । महिनामा करिब ४–५ लाखको सामान त म विदेशै पठाउँछु ।’ लामाले भनिन् ।

भोगटेको बोक्रालाई प्रशोधन गरी त्यसमा चिनी, खुर्सानी, मरिच धुलोलगायत हालेर भोगटेको क्यान्डी बनाउने गरिएको छ । त्यस्तै किबी र लप्सीको क्यान्डी पनि सोहीअनुसार प्रशोधन गरी बनाउने गरिन्छ । भोगटे र किबीको क्यान्डीको मूल्य प्रतिकिलो एक हजार र लप्सीको क्यान्डी प्रतिकिलो ८ सय रुपैयाँ निर्धारण गरिएको छ । २ सय ग्रामको प्याकेट बनाएर लेबल र ब्रान्डिङ गरी स्वदेश तथा विदेशमा पठाउने गरिएको छ । नेपालमा पनि विभिन्न सप्लायर्सहरुले फर्ममै आई उत्पादन किन्ने गरेका छन् ।

बनेपामा करिब ३ रोपनी जग्गामा फर्मको आफ्नै ३ रोपनी जग्गा छ । सो जग्गामा किबी, भोगटे, लप्सीलगायतका खेती गरिएको छ । आफ्नो बारीमा फलेकोबाहेक देशैभरबाट सिजनअनुसार भोगटे, लप्सी, किबी फल खरिद गरी ल्याउने गरिन्छ । १५ वर्षअघिसम्म घरमै मास, कर्कलोलगायतका घरायसी उत्पादनको मस्यौरा बनाएर गाउँघरमा बिक्री गरेर आम्दानी गर्दै आएकी कमलाले ७ वर्षयता भोगटेको बोक्रा, किबी, लप्सीलगायत फलको क्यान्डी तितौरा बनाएर बिक्री गर्न थालेपछि उनको उद्यमी यात्राले रफ्तार लिइरहेको छ ।

७ वर्षअघि ५ लाख लगानीमा केही मेसिन किनेर क्यान्डी उत्पादन थालेकी लामाले हाल लगानी करिब १ करोड हाराहारीमा पु¥याएकी छन् । उनको फर्ममा हाल १५ जनाले प्रत्यक्ष रोजगारी पाइरहेका छन् । कमलाका पति श्रीकृष्ण लामा फर्ममै व्यवस्थापनको काम गर्छन् भने कान्छी छोरीले पनि बजार व्यवस्थापनको काममा सघाउँछिन् । वर्षमा करिब करोडभन्दा बढीको कारोबार हुने गरेको बताउँदै सञ्चालक लामाले वर्षमा सबै खर्च कटाएर करिब १५ लाखभन्दा बढी आम्दानी हुने गरेको बताइन् । आफ्नो उद्यमशीलताको कदर गर्दै स्थानीय सरकार र प्रदेश सरकारले पनि आफूलाई मसिन औजार खरिद गर्न सघाएको भन्दै उनी कृतज्ञता प्रकट गर्छिन् । करको केही झन्झट रहेको भन्दै उनी उत्पादनमुलक घरेलु उद्योगलाई करमा विशेष छुट हुनुपर्ने बताउँछिन् ।

यसैबीच बागमती प्रदेशको उद्योग वाणिज्य भूमि प्रशासन मन्त्रालयले बागमती प्रदेशकै सर्वोत्कृष्ट उद्यमीको रुपमा जम्भला कृषि फर्मलाई सम्मान गरेको छ । १० औं उद्योग दिवसको अवसरमा आइतबार नवप्रवर्तन उद्यमी सम्मान कार्यक्रमअन्तर्गत बागमती प्रदेशमै सर्वोत्कृष्ट घोषित जम्भला कृषि फर्मलाई एक लाख रुपैयाँसहित प्रदेश सरकारले सम्मान गरेको हो । प्रदेशका मुख्यमन्त्री बहादुरसिं लामाले जम्भलासहित १३ जिल्लाका १३ वटा उत्कृष्ट उद्यमी छनौट गरी नगदसहित सम्मान गरेका हुन् । उत्कृष्ट फर्मलाई प्रति फर्म ४० हजार रुपैयाँसहित सम्मान गरिएको थियो ।

प्रदेशभित्र जिल्लागत रुपमा उत्कृष्ट हुने फर्महरुमा कोम्हेन्दो एकिकृत कृषि फार्म (मकवानपुर), युनिक पशुपन्छी तथा कृषि फर्म, (धादिङ्ग), एस. एस. टेलर्स एण्ड स्यानिटरी प्याड तथा माक्स (रसुवा), वरपिपल दुना टपरी उद्योग (सिन्धुली), ओम फुड प्रोडक्ट (काठमाण्डौँ), श्रृजनशील कृषि फर्म (ललितपुर), सुरी मौरी पालन तथा घार उद्योग (दोलखा), नव यूवा कृषि फर्म (नुवाकोट), लक्ष्मी चिउरा उद्योग ( भक्तपुर), ए सि एन नेपाली कागज उद्योग ( चितवन), मन्थली डिलक्स एग्रो फरेस्टी (रामेछाप),  कफी सहकारी उद्योग (सिन्धुपाल्चोक), बि. जे.एस ह्याण्डीक्राफ्ट एण्ड पनौती सेभिनियर हाउस (काभ्रेपलान्चोक) रहेका छन् । आर्थिक वर्ष २०७९÷०८० को तथ्यांकअनुसार बागमती प्रदेशमा कुल ५ हजार नौ सय २६ वटा उद्योगहरु दर्ता रहेका छन् ।  

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan