हेटौंडा– आगामी मंसिर १६ मा हुने स्थानीय तह उपनिर्वाचनमा हेटौंडा–१२ को वडा अध्यक्ष पदमा नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार बनेका अर्जुन प्रसाद तिवारीले घरदैलो कार्यक्रम सक्याएका छन् । विगत ४ दिनदेखि नागरिकको घरघरमै पुगी आफ्ना भावी योजना सुनाउँदै कांग्रेस उम्मेदवार तिवारीसहित वडा तथा जिल्ला तहका नेता कार्यकर्ता घरघर पुगेका थिए ।
घरदैलो अभियानको अन्तिम दिन सोमबार गुरौविर्ता, आलदमार, कल्याणटारलगायतका टोलमा मत माग्ने र आफ्ना योजनाबारे घरघरमा जानकारी गराउने कार्यक्रम राखिएको थियो । नागरिकको समस्या र गुनासो सुन्ने तथा विकासका योजना निर्माणमा स्थानीय नागरिकहरुसंग अन्तरक्रिया गर्दै तिवारीले घरदैलो अभियान सक्याएका हुन् । जनप्रतिनिधि नरहँदा पनि आफूले कामबाट आम नागरिकलाई सेवा गरिरहेको स्मरण गर्दै तिवारीले मतदाताको घरघरमै पुगी जनप्रतिनिधि भएपछिको योजना सुनाएका थिए ।
नागरिकका माग र समस्या सम्बोधन गर्न जरुरी रहेकाले वडाका २७ वटै टोलमा आफू पुगेको तिवारीले बताए । नगरिकको आर्थिक अवस्था सुधार गर्नको लागि कृषि उत्पादनलाई बढवा दिने गरी आफूले एजेन्डा ल्याएको उम्मेदवार तिवारीले बताए । चुनावी तयारी कार्यक्रमअन्तर्गत वडामा आमसभा, सांस्कृतिकलगायत जागरण कार्यक्रम गरिने कांग्रेसले जनाएको छ ।



