हेटाैंडा- हेटौंडा-१२ काे वडाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार अर्जुन प्रसाद तिवारी निर्वाचित भएका छन् ।
५०३ मतअन्तरले तिवारी विजयी भएका हुन् । आइतबार भएकाे उपनिर्वाचनमा कुल ५ हजार ४८४ मत खसेकोमध्ये ७८ बदर भएको छ । बाँकी ५ हजार ४ सय ६ मतमध्ये तिवारीले २०६३ मत ल्याएका छन् ।
निकटतम प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका रबिकुमार प्रधानले १ हजार ५ सय ६० मत ल्याएका छन् । नेकपा एमालेका राजेश नगरकोटीले १ हजार ३९८ मत पाए ।
यस वडामा कुल ८ हजार ५३ मतदाता रहेका थिए । २०७९ को स्थानीय तहको निर्वाचनको तुलनामा उपनिर्वाचनमा १ हजार ५८८ मतदाता थपिएका थिए ।
वडाध्यक्ष पदका लागि १२ जना उम्मेदवार रहेका थिए । जसमध्ये नौजना विभिन्न दलबाट र तीन जना स्वतन्त्र उम्मेदवार रहेका थिए ।
यसअघिका दुई निर्वाचनमा झिनाे मतान्तरले पराजित भएका कांग्रेस उम्मेदवार तिवारी तेस्राे पटकमा फराकिलाे मतले विजयी बने । २०७४ को निर्वाचनमा १ सय ४ मत र २०७९ को निर्वाचनमा ३१ मतान्तरले पराजित भएकाेमा आइतबारकाे उपनिर्वाचनमा माओवादी केन्द्रका उम्पमेदवार भन्दा ५०३ मत बढी ल्याएर विजयी भएका हुन् ।
यसअघि २०७९ काे निर्वाचनमा वडाध्यक्षमा निर्वाचित माओवादीका ललित घलान जिल्ला समन्वय समितिको प्रमुख बन्न गएपछि रिक्त पदमा आइतबार उपनिर्वाचन भएको हो ।
हेर्नुहाेस् सबै उम्मेदवारकाे मत
अर्जुन प्रसाद तिवारी (नेपाली काँग्रेस) – २०६३ (विजयी)
रबि कुमार प्रधान (माओवादी केन्द्र) – १५६०
राजेश नगरकोटी (नेकपा एमाले) – १३९८
आशा विर बल (राष्ट्रिय स्वतन्त्र पार्टी) – ८३
प्रेम बहादुर भोलन (राप्रपा) – १७८
छविलाल वाइवा (जसपा नेपाल) – १०
बलराम बल (नेकपा एकीकृत समाजवादी) – ७३
फुल माया तितुङ्ग (नेमकिपा) – १
दीपा लामा (मंगोल नेशनल अर्गनाइजेशन) – ३२
चापाकल – १
लसुन – ०
मिलाएको हात -१
बदर : ७८

