हेटौंडा–मकवानपुरे उद्योगी तथा व्यवसायीको छाता संगठन मकवानपुर उद्योग वाणिज्य संघको नयाँ नेतृत्वका लागि आकांक्षीहरुले उम्मेदवारी घोषणा सुरु गरेका छन् । मंसिर २४ गतेदेखि २७ गतेसम्म संघको ५८ औँ साधारणसभाका साथ अधिवेशनसमेत हुँदैछ ।
२ हजार भन्दा बढी उद्योगी व्यवसायी मतदाता रहेको संघमा ३ वर्षे कार्यकालका लागि नयाँ नेतृत्व चुनिन लागेको हो । यसै क्रममा उद्योग वाणिज्य संघका वर्तमान उपाध्यक्ष प्रमोदसिं रानाभाटले अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् । बुधबार रानाभाटले आफ्नो उम्मेदवारी घोषणाका साथमा हेटौंडा–२ स्थित पल्पसारोडमा सम्पर्क सचिवालयसमेत उद्घाटन गरेका छन् । प्रमोदका पिता डम्बर बहादुरले रिबन काटेर सचिवालय उद्घाटन गरे ।
उम्मेदवारी घोषणापछि रानाभाटले व्यवसायीको हकहित र आर्थिक विकासका लागि आफूले ठोस काम गरेर देखाउने प्रतिवद्धता जनाए । व्यवसायीका समस्याहरूको सम्बोधन गर्दै संस्थालाई थप उचाइमा पुर्याउने लक्ष्यका साथ आफू अध्यक्ष बन्न चाहेको उनको भनाइ थियो । ‘संघको नेतृत्व व्यवसायीले नै गर्नुपर्छ । व्यवसायीका हकहितका लागि ठोस योजना बनाएर संघलाई समृद्ध र प्रभावकारी बनाउन म निरन्तर क्रियाशील हुनेछु ।’ उनले भने । रानाभाटको उम्मेदवारीसँगै मकवानपुर उद्योग वाणिज्य संघमा निर्वाचनको सरगर्मी बढेको छ । संघको नेतृत्वका लागि अन्य प्रतिस्पर्धीहरुले पनि उम्मेदवारी घोषणाको तयारी गरेका छन् ।