सार्वजनिक शिक्षा प्रणाली सुधारको माग गर्दै एक युवाले भद्र आन्दोलन गरिरहेका छन् । हरेक प्रदेशको राजधानीको चोकमा उभिएर आन्दोलन गरिरहेका पोखराका युवा नेत्र चापागाई सोमबार बागमती प्रदेशको राजधानी हेटौंडाको वुद्धचोकमा उभिएर आन्दोलन गरे ।
‘सार्वजनिक शिक्षा बदल्न सोच र स्रोत दुबै बदलौं’ भन्दै प्रदेश राजधानी हेटौंडामा चापागाईले सोमबार र मंगलबार वुद्धचोकमा उभिएर आन्दोलन गरे । १५ सुत्रीय मागसहित भद्र आन्दोलन गरिरहेका चापागाईले बिहान १० बजेदेखि ५ बजेसम्म हेटौंडाको बुद्धचोकमा उभिएका थिए । समाजवादी विद्यार्थी युनियन केन्द्रीय समितिका अध्यक्ष रहेका चापागाईले गत असोज ९ गते पोखराबाट भद्र आन्दोलन सुरु गरेका थिए । ‘शिक्षा ऐन कहिले आउँछ सरकार ? ताराबाजी लै लै शिक्षामा सुधार खै ? हामी सिपमुलक शिक्षा, उद्यमशील समाज र सम्मानित शिक्षक आकर्षक सार्वजनिक विद्यालय चहान्छौं जस्ता नारा तय गरी आन्दोलन गरिरहेका छन् ।
नयाँ शिक्षा ऐन नल्याउँदा देशभर स्थानीय तहमा कानुन निर्माणमा जटिलता तथा अन्यौल सृजना गरेको भन्दै उच्चस्तरीय शिक्षा आयोगको प्रतिवेदनको आधारमा तत्काल नयाँ विद्यालय शिक्षा ऐन जारी गर्न चापागाईको माग छ । पोखराबाट आन्दोलन सुरु गरी धनगढी, नेपालगञ्ज, सुर्खेत, विराटनगर हुँदै उनी हैटौंडा आइपुगेका हुन् । हेटौंडाबाट उनी जनकपुर पुग्ने बताइएको छ । आफ्नो मागको सम्बोधन नगरिए काठमाडौंको माइतीघर मण्डला अगाडि अनिश्चितकालसम्मका लागि उभिएर आन्दोलन गर्ने चापागाईले बताए ।

