हेटौंडा– ‘उत्पादन, बजारीकरण तथा लगानीको आधार, उद्यम प्रवद्र्धन हाम्रो पूर्वाधार’ भन्ने नाराका साथ हेटौंडामा सहकारी र सहकारी संस्थाका सदस्यबाट उत्पादित सामाग्रीको प्रदर्शनी तथा बिक्री मेला हुने भएको छ । जिल्ला बचत तथा ऋण सहकारी संस्था मकवानपुरको आयोजनामा आगामी पुस १६ गतेदेखि १८ गतेसम्म हेटौंडा २ स्थित संघको नवनिर्मित भवन परिसरमा सामाग्री प्रदर्शनी तथा बिक्री हुन लागेको हो ।
सहकारी मार्फत उद्यम गर्ने सदस्यलाई प्रोत्साहन गर्ने तथा सहकारीका व्यवसायी सदस्यको व्यवसाय प्रवर्धन गर्ने उद्देश्यका साथ प्रदर्शनी मेला आयोजना गरिएको संघले आइतबार पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिएको छ । मेलाले उत्पादक र उपभोक्ता बीच पुलको रुपमा काम गर्ने र सहकारीका सदस्यको उत्पादनको बजार प्रवद्र्धन गर्ने विश्वास लिइएको संघकी अध्यक्ष कल्पना श्रेष्ठले बताइन् ।
मेलामा कृषि सहकारीका साथै बहुउद्देश्यीय, कृषि सहकारीहरुले समेत उत्पादन गरेका हस्तकला सामाग्री, खाद्य सामाग्री, मसला सामाग्री, डेरी परिकारहरुसहि करिब ४० वटा स्टल रहने बताइएको छ । तीन दिनसम्म सञ्चालन हुने प्रदर्शनीमा करिब १० हजार जनाले अवलोकन गर्ने अनुमान गरिएको छ ।

