हेटौंडा– स्थानीय स्तरमा जलवायु संरक्षण नीति कार्यान्वयन, सार्वजनिक सम्पत्ति संरक्षण र उपयोग, लैंगिकमैत्री जलवायु समाधानलगायत जलवायु संरक्षणको नीतिगत पैरवीको लागि बागमती प्रदेशको राजधानी हेटौंडामा प्रादेशिक सम्मेलन हुँदैछ ।
भोलि पुस ८ गते सोमबार हेटौंडाको होटल एभोकाडोमा विभिन्न क्षेत्रका सरोकारवालाको उपस्थितिमा सम्मेलन गर्न लागिएको आइतबार पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको छ । संघीय सरकारसंगै प्रदेश र स्थानीय सरकारले जलवायु परिवर्तनसम्बन्धी अन्तराष्ट्रिय प्रतिबद्धता र रणनीतिसंग आफ्नो योजना र कार्यान्वयनमा समायोजन गर्न र उक्त स्थानीय प्राथमिकतालाई समेट्नका लागि सहजीकरण गर्ने उद्देश्यले सम्मेलन गर्न लागिएको बताइएको छ ।
बागमती प्रदेश सरकारका मुख्यमन्त्री बहादुर सिंह लामाको प्रमुख आतिथ्यतामा कार्यक्रम हुन लागेको हो । कार्यक्रममा संघीय सरकारले निर्माण गरेका जलवायु सम्बन्धी नीति, ऐनलाई स्थानीय तहसम्म ल्याउँदा परेको कठिनाई, समस्यालाई कसरी समाधान गर्ने भन्ने बारेमा वृहत छलफल गरी निष्कर्ष निकालिने एक्सन एड परियोजना कार्यक्रम संयोजक कविता बस्नेतले जानकारी दिइन् ।
कार्यक्रममा वनसँग जोडिएका विभिन्न विज्ञका साथै मन्त्री, प्रदेश सभा सदस्य, स्थानीय तहका प्रमुख, युवा नेतृत्वहरुको सहभागिता रहनेछ ।
मकवानपुर महिला समुह, चितवन सकिय महिला प्रतिस्थान, एक्सनएड नेपाल, विभिन्न अभियानकर्मी, युवा नेटवर्क, संजाल साथै कलेज र विश्वविद्यालयसंग सहकार्य गरी समुदायस्तर र नीतिगत रुपमा जलवायु परिवर्तन नीति पैरवीका लागि काम गरिरहिएको बताइएको छ ।

