Search
Close this search box.

पार्टीका अग्रजलाई सम्मान गरी मेलमिलाप दिवस मनाउँदै मकवानपुर कांग्रेस

हेटौंडा–हरेक वर्ष पुस १६ गते मनाउँदै आइएको राष्ट्रिय एकता तथा मेलमिलाप दिवस नेपाली कांग्रेस मकवानपुरले विशेष कार्यक्रम गरी मनाउने भएको छ । पुस १६ गते हेटौंडामा कांग्रेसले केन्द्रीय पदाधिकारीहरुकोसमेत उपस्थितिमा शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रमको आयोजना गर्ने भएको छ ।

महामन्त्री गगन थापाको प्रमुख उपस्थितिमा कांग्रेसले शुभकामना आदानप्रदान तथा पार्टीका अग्रजलाई सम्मान गर्ने कार्यक्रम राखिएको नेपाली कांग्रेस मकवानपु्रका सभापति वुद्ध लामाले सोमबार पत्रकार सम्मेलनमार्फत जानकारी दिए । उक्त दिन पार्टीका पूर्व सभापतिहरु, पार्टीमा लामो समय योगदान गरेका अग्रजलगायत गरी करिब ३० जनालाई सम्मान गर्ने योजना बनाइएको लामाले बताए । हेटौंडाको रोयल पार्टी प्यालेसमा हुने विशेष कार्यक्रममा महामन्त्री थापासहित सहमहामन्त्री महालक्ष्मी उपाध्याय डीना, बागमती प्रदेश सभापति ईन्द्र्रबहादुर बानियाँलगायतको सहभागिता रहने जनाइएको छ ।

पार्टीका संस्थापक नेता बीपी कोइराला, गणेशमान सिंहलगायतका नेताहरु लामो निर्वासन अन्त्य गरी भारतबाट स्वदेश फर्किएको दिन पुस १६ गतेलाई कांग्रेसले हरेक वर्ष ‘राष्ट्रिय एकता तथा मेलमिलाप दिवस’का रुपमा मनाउने गरेको छ । २०१७ साल पुस १ गते तत्कालीन राजा महेन्द्रले ‘कू’ गर्दै शासन आफ्नो हातमा लिएका थिए । कांग्रेस संस्थापक एवम् तत्कालीन प्रधानमन्त्री वीपी कोइरालालगायतलाई जेल हालिएको थियो । महेन्द्रले बहुदलीय प्रजातान्त्रिक व्यवस्था विघटन गरी राजनीतिक दलमाथि प्रतिबन्धमात्र लगाएनन् नेताहरुमाथि देशद्रोहको मुद्दासमेत लगाए ।

तर, २०२५ कात्तिक १४ गते वीपी कोइरालालगायतका नेताहरु जेलमुक्त भए । त्यसपछि उनीहरु भारतमा निर्वासन जीवन बिताउन थाले । त्यसको ८ वर्षपछि अर्थात् २०३३ साल पुस १६ गते वीपी कोइराला, गणेशमान सिंह, शैलजा आचार्य, खुमबहादुर खड्कालगायतका नेताहरु आफूहरुमाथि लगाइएको मृत्युदण्डको मुद्दाको बेवास्ता गर्दै राष्ट्रियता जोगाउन राजसंस्था र सबै राजनीतिक दलहरु मिलेर अघि बढ्नुपर्ने नीति अंगाल्दै स्वदेश फर्किए । सोही दिनलाई कांग्रेसले विशेष दिनका रुपमा मनाउने गरेको छ ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan