Search
Close this search box.

मकवानपुरको कैलाशबाट पूर्ण सरसफाई उन्मुख टोल अभियान सुरु

हेटौंडा–खानेपानी तथा सरसफाईका तोकिएका सूचकको पालना गर्दै मकवानपुरको कैलाश गाउँपालिकाका विभिन्न टोलबाट पूर्ण सरसफाई उन्मुख तथा सुरक्षित खानेपानीयुक्त टोलको घोषणा सुरु भएको छ । मकवानपुरमै पहिलो पटक कैलाश गाउँपालिका–२ को रानाटोल र बुढौलीटोल बिहीबार पूर्ण सरसफाई उन्मुख तथा सुरक्षित खानेपानीयुक्त टोल घोषणा गरिएकोमा शुक्रबार कैलाश–९ का थप ३ वटा टोललाई पूर्ण सरसफाई उन्मुख टोल घोषणा गरिएको हो ।

शुक्रबार कैलाश गाउँपालिका–९ को बिर्ता, अम्बोटे र बरेटार टोललाई पूर्ण सरसफाई उन्मुख घोषणा गरिएको हो । नेपाल ग्रामीण पुनर्निमाण संस्था (आरआरएन) द्वारा Welthungerhilfe(WHH) काे सहयाेगमा कैलाश गाउँपालिकाले सरसफाई उन्मुख तथा सुरक्षित खानेपानीयुक्त टोल घोषणा गरेको हो ।मकवानपुर जिल्लाको पहाडी क्षेत्रमा खानेपानी सरसफाई तथा स्वच्छता प्रणालीको सुद्धीकरण र व्यवहार परिवर्तन परियोजनाअन्तर्गत आरआरएनले कैलाशमा अभियान चलाएको थियो । सो क्रममा गाउँपालिका कार्यालयसँग सहकार्यमा टोलहरुमा खानेपानी र स्वच्छतासम्बन्धी कार्यक्रमहरु सञ्चालन गरिएको थियो ।

घोषणाका लागि स्वच्छ र सफा घरका सूचकहरुको निर्धारण गरी सो सूचक पूरा गर्नका लागि कामहरु गरिएको थियो । घरमा प्रयोगकर्तामैत्री तथा सुरक्षित चर्पीको प्रयोग, प्रयाप्त पानीसहित चर्पीमा सरसफाई सामाग्री भएको, खुला स्थानमा दिशा नभएको, बच्चाको दिसाको सही सदुपयोग भएको हुनुपर्ने सूचकमा उल्लेख छ । साथै बच्चालाई फोहोरबाट टाढा राखी सरसफाई गरेको अवस्था, आधारभूत स्तरको खानेपानीमा सबैको पहुँच भएको, पानी सुद्धीकरण गरेर पिउने गरेको, घरको भान्छा सफा तथा सिलौटा छोपेर राखेको, भाडा सुकाउने र राख्ने ¥याक चाङको व्यवस्था भएको, कुहिने र नकुहिने फोहोर छुट्याउने र उचित व्यवस्थापन गर्ने गरेको लगायतका डेढ दर्जनभन्दा बढी सूचक निर्धारण गरी पूर्ण पालना भएपछि पूर्ण सरसफाई उन्मुख र स्वच्छ सुरक्षित खानेपानीयुक्त टोल घोषणा गरिएको गाउँपालिकाले जनाएको छ ।

शुक्रबार कैलाश–९ मा वडाध्यक्ष भुवनसिं घलानको अध्यक्षतामा भएको घोषणासभामा गाउँपालिकाका अध्यक्ष लोकबहादुर मुक्तानको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा बोल्दै गाउँपालिकाका अध्यक्ष लोकबहादुर मुक्तानले विकट गाउँमा खानेपानीको पहुँचबाटै टाढा रहेको नागरिकलाई खानेपानी र सरसफाई सम्बन्धी काम गर्नु चुनौतीपूर्ण भएता पनि आरआरएनसँगको सहकार्यमा टोलटोलमा कामहरु गर्न सफल भएको बताए । हरेक टोललाई पूर्ण सरसफाई र सुरक्षित खानेपानीयुक्त टोल बनाउनको लागि संस्थासँग निरन्तर सहकार्य गर्ने उनले प्रतिवद्धता जनाए ।

कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष बालकुमार मल्ल, आरआरएनका कार्यक्रम संयोजक लिलबहादुर काकीलगायतले मन्तव्य व्यक्त गरेका थिए ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan