हेटौंडा–भौगोलिक हिसाबले निकै पछाडि रहेको मकवानपुरको कैलाश गाउँपालिकाले टोलटोलमा पुगेर आँखाका बिरामी पहिचान गरी उपचार गर्ने अभियानलाई तीव्रता दिएको छ ।
तिलगंगा आँखा अस्पतालसँगको सहकार्यमा कैलाश–३ स्थित कटुञ्जेमा २०७९ सालमा स्थापित कैलाश ग्रामीण आँखा उपचार केन्द्रमार्फत टोल टोलमा पुगेर नियमित आँखा परीक्षण गरिँदै आएको छ । कैलाश ग्रामीण आँखा अस्पतालमार्फत एक वर्षको अवधिमा करिब पाँच सयजनाभन्दा बढीको आँखा परीक्षण भइसकेको अस्पतालका नेत्र सहायक सरोजकुमार मण्डलले जानकारी दिए ।
गाउँपालिकाको बजेटमा सञ्चालित अस्पतालले हरेक हप्ता नियमित रुपमा गाउँका चार वटा फरकफरक स्वास्थ्यचौकीमा आँखा शिविर गर्दै आएको गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तानले जानकारी दिए । ग्रामीण आँखा अस्पतालमार्फत हरेक हप्ताको बुधबार तामलाङ, भार्ता, नामटार, र भालटारस्थित स्वास्थ्यचौकीमा पालैपालो आँखा परीक्षण गर्ने गरिएको उनले बताए ।
यसैक्रममा कैलाश गाउँपालिका–१० स्थित भालटारमा गत मंसिर २२ गते भएको आँखा परीक्षणका क्रममा भेटिएका मोतियाविन्दुका बिरामीको शनिबार हेटौंडा सामुदायिक आँखा अस्पतालमा शल्यक्रिया गरिएको छ । सो शिविरमा १६० जनाको आँखा परीक्षण गरिएकोमा २० जनामा मोतियाविन्दु देखिएको थियो । त्यसमध्ये १० जनाको शनिबार शल्यक्रिया गरिएको छ । गाउँपालिकाका अध्यक्ष लोकबहादुर मुक्तानले शनिबार हेटौंडा आँखा अस्पताल पुगी शल्यक्रिया गरिएका बिरामीको आँखाको पट्टी खोलेका थिए ।
बिरामीहरुसँग साक्षात्कार गर्दै अध्यक्ष मुक्तानले बिरामीलाई निःशुल्क सल्यक्रियाका साथ घर आवतजावतमा यातायात, खाना र निशुल्क रुपमा चश्माको व्यवस्था गाउँपालिकाले गरेको बताए । विकट गाउँमा धेरै आँखाका बिरामी रहेको र उनीहरुले कष्टकर जीवन बिताइरहेको भन्दै टोल टोलमा पुगेर शिविर गरी उनीहरुको आँखाको समस्या समाधान गरिने प्रतिवद्धता जनाए ।


