Search
Close this search box.

स्थानीय उत्पादनको बजारीकरणका लागि राक्सिराङमा हाट बजार

हेटौंडा–स्थानीय स्तरमा उत्पादित कृषि उपजको बजारीकरणमा सहयोग पु¥याउने तथा स्थानीय उत्पादनको उपभोगलाई प्रोत्साहित गर्ने उद्देश्यले मकवानपुरको विकट राक्सिराङ गाउँपालिकामा पाक्षिक हाट बजार सुरु भएको छ । राक्सिराङ गाउँपालिकाको संरक्षकत्वमा गाउँपालिका केन्द्र चैनपुरमा सुरु भएको हाट बजारमा सिस्नुको फाँडोदेखि गिट्ठा भ्याकुरका परिकारसमेत खरिद बिक्री भएको छ ।

बामगती प्रदेशका सहकारी तथा गरिबी निवारण मन्त्री मदुकुमार श्रेष्ठले २०८१ सालको पहिलो हाट बजारको सोमबार उद्घाटन गरेका हुन् । स्थानीय चिउरी फूलबाट बनाइएको महदेखि कृषि सहकारीले उत्पादन गरेको गुन्द्रुकसमेत हाट बजारमा बिक्रीका लागि ल्याइएको छ । राक्सिराङ गाउँपालिकाको संरक्षकत्वमा २ वर्षअघिदेखि पाक्षिक हाट बजार सुरु भएको थियो । यस वर्ष पनि वर्षायाम सुरु नहुँदासम्म हाट बजार निरन्तर रहने जनाइएको छ । हाटबजार हरेक महिनाको १ गते र १५ गते सञ्चालन गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले जानकारी दिए ।

हाटबजारका लागि ३० वटा स्टलहरु निर्माण गरिएकोमा सोमबार पहिलो दिन सबै स्टलहरु भरिएका थिए । हाट बजारमा स्थानीय उत्पादनहरु सिस्नुको झोल, गुन्द्रुक, तरुल, पिँडालु, गहत, मास, फापर, कोदो, आलु, बेतबाँसका सामग्री, आरनमा बनाइएका फलामे औजारहरु बिक्रीका लागि राखिएका थिए । स्थानीय परिकार गिट्ठा, भ्याकुर, होटल, स्थानीय जातका खसी, बोका, लोकल कुखुरा, स्थानीय स्तरमा उत्पादित मौरीको महलगायतका स्थानीय उत्पादन हाटबजारमा बिक्री गरिएको थियो । पश्चिम मकवानपुरको मनहरी बजार हरेक महिनाका १ गते र १५ गते बन्द हुने गर्दछ । मनहरीबाट ६ किलोमिटर दूरीमा रहेको राक्सिराङका ग्राहक, उपभोक्ता र व्यापारीहरुलाई समेत आकर्षण गर्ने लक्ष्यका साथ हाट बजार राखिएको हो ।

हाट बजार उद्घाटन कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलान, कैलाश गाउँपालिकाका अध्यक्ष लोकबहादुर मुक्तान, मनहरी गाउँपालिकाका अध्यक्ष रन्जन कालाखेतीलगायतले मन्तव्य व्यक्त गरेका थिए । उद्घाटन कार्यक्रमकाबीच स्थानीय कलाकारका विभिन्न गीत तथा नृत्य साथै खैजडी भजनसमेत प्रस्तुत गरिएको थियो ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan