Search
Close this search box.

कांग्रेसले ८४ मा घोषणापत्र होइन परिणामपत्र बोकेर जानुपर्छः महामन्त्री थापा

हेटौंडा–नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपाली कांग्रेसले आगामी २०८४ को चुनावमा घोषणापत्र नभई परिणामपत्र बोकेर जानुपर्ने धारणा व्यक्त गरेका छन् । ४९ औँ मेलमिलाप दिवसको अवसरमा मंगलबार नेपाली कांग्रेस मकवानपुरले हेटौंडामा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले नेपाली कांग्रेसका सबै तहका जनप्रतिनिधिले परिणाम आउनेगरी काम गर्नुपर्नेमा जोड दिए ।

‘२०७९ को निर्वाचनमा नेपाली कांग्रेसलाई पहिलो पार्टीको रुपमा जनताले जिताएर पठाए, त्यसैले अब हामीले काम गरेर जनतालाई देखाउनुपर्छ, अझै हामीलाई काम गरेर देखाउने समय ३ वर्ष बाँकी नै छ । सबै तहका जनप्रतिनिधिले यसतर्फ केन्द्रित भएर २०८४ को चुनावमा घोषणापत्र होइन परिणामपत्र लिएर जनतामाझ जानुपर्छ ।’ थापाले भने । वर्तमान सरकार टिक्दैन भनेर हल्ला चलाइएको भन्दै उनले वर्तमान सरकार अबको तीन वर्षसम्म निरन्तर रहने विश्वास दिलाए । ‘सरकारमा अझै तीन वर्ष बस्छौँ, तीन वर्षमा यो देशमा नागरिकलाई हुदैछ, हुन्छ भन्ने आशा र भरोसा दिलाउनुपर्नेछ ।’ थापाले भने ।

थापाले पार्टीको महाधिवेशन समयमै हुने दाबी पनि गरेका छन् । ‘महाधिवेशन हुन्छ कि हुँदैन भनेर रुवाबासी गर्न जरुरी छैन । प्रतिबन्धित कालमा महाधिवेशन गरेको पार्टीले अब पनि समयमै महाधिवेशन गर्दैन कि भन्ने नसोच्नुहोला,’ उनले भने । पार्टीभित्र कसैलाई महाधिवेशनका पक्षधर र कसैलाई महाधिवेशन नगर्ने बनाइएको भन्दै उनले महाधिवेशन समयमै हुनेमा ढुक्क रहन आग्रह गरे ।

कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य मोहन आचार्य, प्रतिमा गौतम, अजयबाबु शिवाकोटी बागमती प्रदेश सभापति ईन्द्रबहादुर बानियाँ, पूर्व सभापति रघुरमण न्यौपाने, कांग्रेस क्षेत्र नम्बर १ का सभापति दामोदर खनाल, क्षेत्र नम्बर २ (ख) का सभापति रन्जन कालाखेती, मनहरी गाउँपालिका सभापति प्रकाश वर्ताैलालगायतले मन्तव्य व्यक्त गरेका थिए । पार्टी सभापति बुद्ध लामाको सभाध्यक्षतामा भएको कार्यक्रमकाबीच नेपाली कांग्रेसका पूर्व सभापतिहरु, पार्टीमा लामो समय योगदान गरेका नेताहरुलगायत गरी करिब ३० जनालाई सम्मान गरिएको थियो । यस्तै कार्यक्रमकैबीच विभिन्न पार्टी परित्याग गरी करिब डेढ दर्जन युवा नेपाली कांग्रेसमा प्रवेश गरेका थिए ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan