Search
Close this search box.

सर्प उद्धार गर्नेलाई उपमहानगरको सहयोग

हेटौंडा । हेटौंडा वातावरण सन्तुलनका लागि महत्त्वपूर्ण प्राणीको रूपमा मानिने सर्पको संरक्षण र उद्धारमा सक्रिय बाबुछोरालाई हेटौंँडा उपमहानगरपालिकाले सामग्री हस्तान्तरण गरेको छ ।  हेटौँडामा रहेर पत्रकारितासमेत गर्दै आएका बाबुछोरा राजेश थापा ‘गरिब’ र रोशनदीप थापालाई उपमहानगरपालिकाले सर्प उद्धारका लागि आवश्यक सामग्री हस्तान्तरण गरेको हो ।

उपमहानगरपालिकाकी मेयर मीनाकुमारी लामाले उनीहरूलाई सर्प उद्धारमा प्रयोग गरिने स्नेक क्याचर, स्नेक टंक, हुक स्टिक, बुटसेट, ब्याग, ग्लब्स, हेड टर्चसहितको सामग्री हस्तान्तरण गरेकी हुन् । उक्त सामग्री ३५ हजार मूल्यबराबरको रहेको उपमहानगर जिन्सी शाखाले जनाएको छ ।

सामग्री हस्तान्तरण गर्दै नगर प्रमुख लामाले सेवामुखीभावले जोखिमपूर्ण कार्य विनासुरक्षा गरेकाले सहयोग गरेको बताइन् । उनले सुरक्षित ढंगले काम गर्न आग्रह पनि गरिन् । उनले पत्रकारितासँगै उपमहानगरभित्रका घरघरमा पुगेर निःशुल्क सेवाभावले सर्प उद्धार गरेकोमा धन्यवादसमेत दिइन् । 

थापा बाबुछोराले हेटौँडा उपमहानगरपालिकाभित्रका हरेक वडासहित छिमेकका पालिकाहरूमा समेत पुगेर सर्वसाधारणको घरभित्र पसेका सर्प उद्धार गरी मानव बस्तीभन्दा टाढा वनक्षेत्रमा लगरे छाड्ने गरेको बताए । 

सर्पको उद्धारपछि विषालु र विषालुरहित पहिचान गरी डिभिजन वनसँगको समन्वयमा मानव र सर्प दुवैलाई हानि नहुने गरी वनक्षेत्रमा छाडिने गरेको उनीहरूले भनाइ छ । सर्प उद्धार गर्दै गर्दा आफूहरूले अहिलेसम्म १४ प्रकारका सर्पहरू फेला पारिसकेको र जसमा विषालु किंगकोब्रा, स्पेक्टिकल कोब्रा (गोमन सेतीनाग), मोनोस्लेड कोब्रा (गोमन चन्द्रानाग), ग्रिनपिट भाइपर, बेन्डेड करेतलगायतका फेला पारेको जानकारी दिए ।

उपमहानगर परिसरमा भएको सामग्री हस्तान्तरण कार्यक्रममा हेटौँडा– १ का अध्यक्ष सबिन न्यौपाने, हेटौँडा– ८ का अध्यक्ष रामकृष्ण थापा, हेटौँडा– ९ का अध्यक्ष सुकराम केसीलगायतको सहभागिता रहेको थियो ।

केही प्रतिक्रिया छ कि ?
यो समाचार पढेर कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan