Search
Close this search box.

थलियो नेपालकै पहिलो नामटार ग्राभिटी रोपवे

हेटौंडा–संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले २०७१ सालमा निर्माण गरेको नेपालकै पहिलो ग्राभिटी रोपवे आवश्यक मर्मतको काम अघि बढ्न नसक्दा थलिएको छ । गुरुत्वाकर्षण शक्तिबाट बिना विद्युत् र इन्धनबाट चल्ने कैलाश–९ मा रहेको नामटार ग्राभिटी रोपवे विगत ३ महिनादेखि बन्द छ ।

सञ्चालनकै क्रममा रोपवेको एउटा तार छिनेपछि गत असोजबाट रोपवे बन्द भएको हो । तार छिनेसँगै रोपवेमा रहेको दुईवटा बकेटमध्ये एउटा बकेट पूर्ण क्षति भएको छ । रोपवे मर्मत गर्नेबारे उपभोक्ता समितिमै एकमत नभएपछि अब सधैँका लागि बन्द हुन्छ कि भन्ने चिन्ता भएको घैराङका स्थानीय पूर्णसिं गोलेले बताए । ‘एउटा तार फेरेर बकेट नयाँ हाल्न सकियो भने यसलाई फेरि चलाउन सकिन्थ्यो, उपभोक्ता समितिले पनि चासो दिएको छैन । रोपवे चल्दा यहाँ धेरै सुविधा भएको थियो । सामान ल्याउन लैजान पनि सस्तो पथ्र्यो ।’ गोलेले भने ।
सस्पेन्सन ब्रिज डिभिजन कार्यालय काठमाडौं र स्थानीय उपभोक्ताको गरी २५ लाख ५२ हजार रुपैयाँ लागतमा १० वर्षअघि नामटारको कपचेरी र घैराङ डाँडाबीचमा एक हजार दुई सय १४ मिटर लामो ग्राभिटी रोपवे स्थापना गरिएको थियो । सडक नपुगेको घैराङमा रोपवे स्थापनापछि तरकारी तथा स्थानीय स्तरमा उत्पादित खाद्यान्न बजारसम्म पु¥याउन र बजारबाट घरायसी सामाग्री गाउँमा लैजान सहज भएको थियो । २ वर्षअघि मात्रै घैराङमा कच्ची सडक पुगे पनि हिउँदमा मात्रै गाडी पुग्दछ । एक सय १५ परिवार बसोबास गर्ने घैराङमा ग्राभिटी रोपवे स्थापना भएपछि स्थानीय तरकारी उत्पादनमा निकै उत्साहित भएका थिए । हिँडेर दुई घण्टा लाग्ने बाटोमा रोपवेमार्फत दुई मिनेटमै सामान ओसारपसार गर्न सकेपछि स्थानीय निकै खुसी थिए ।

स्थानीयले काउली, आलुलगायत सिजनमा २ ट्रकभन्दा बढी तरकारी नामटार बजार झार्ने गरेका थिए । किसानले तरकारी उत्पादनबाटै गाउँमा वार्षिक डेढ करोडभन्दा बढी आम्दानी गर्ने गरेको कैलाश–९ का वडाध्यक्ष भुवनसिं घलानले जानकारी दिए । ‘रोपवेका कारण घैराङबासीको जीवनस्तरमै परिवर्तन भएको थियो ।’ घलानले भने–‘यसलाई व्यवस्थित तरिकाले चलाउन नसक्दा समस्या भइरहेको थियो । अब अहिले रोपवेको तार नै छिनेपछि कसले मर्मत गर्ने भन्नेबारे अन्यौल भइरहेको छ ।’ वडाध्यक्ष घलानका अनुसार उपभोक्ता समितिले रोपवेमा सामान ढुवानीबापतको भाडा उठाउन ठेक्का दिने गरेको र ठेकेदारले नै भाडाको पैसा नदिएपछि उपभोक्ता समिति असन्तुष्ट छन् । ठेकेदारले पैसा उठाएर सम्पर्कबिहीन भएपछि अहिले मर्मत गर्न खर्च नभएको र उपभोक्ता समिति नै निराश बनेको वडाध्यक्ष घलानले भने । ‘हामीले पहिले पनि गाउँपालिकामार्फत यो रोपवे सञ्चालन गर्छौँ, हामी नै व्यवस्थित तरिकाले ठेक्का लगाउँछौँ भन्दा उपभोक्ता समितिले दिएनन्, अब अहिले समस्या प¥यो ।’ वडाध्यक्ष घलानले भने–‘हामी अब यसलाई मर्मत गरी व्यवस्थित तरिकाले कसरी सञ्चालन गर्ने भन्नेबारेमा छलफल गर्छौँ ।’
रोपवेमा रहेको २ वटा भारी बोक्ने क्यारीमार्फत माथिबाट र तलबाट एकैसाथ दुइवटा भारीको लोड गराएर सामान तलमाथि पु¥याउने गरिन्छ । घैराङडाँडाबाट नामटार कपचेरी स्टेसन झर्दा ९० किलोको भारी पठाउँदा तलबाट ३० किलोको भारीमात्रै माथि पुग्ने क्षमता राख्छ । घैराङ डाँडाबाट मात्र १ मिनेट ५५ सेकेन्डमा नामटार कप्चेरी स्टेशनमा सामान ढुवानी हुने गर्छ ।

२ घण्टा लाग्ने बाटोमा रोपवेले २ मिनेटमै सामान ल्याइदिने र भाडा पनि निकै सस्तो थियो । प्रति किलो २ रुपैयाँमा सामान तलको माथि र माथिको तल ल्याउने गरिन्थ्यो । अहिले हिउँदयाममा गाडी चले पनि रोपवेको भन्दा गाडी भाडा दोब्बर लाग्ने रोपवे उपभोक्ता समितिका अध्यक्ष ठाकुरसिंह रुम्बाले बताए । रोपवेका कारण स्थानीयलाई धेरै सहज भएकोमा ठेकेदारले भाडाको पैसा उठाएर नदिएपछि आफूहरुले मर्मत गर्न नसकेर बन्द भएको उपभोक्ता समितिका अध्यक्ष रुम्बाले बताए । ‘अहिले गाउँलेहरुले मलाई कराउँछन्, म त अध्यक्ष बनाइएको मात्र हो, पैसा मेरो हातमा परेकै छैन, पैसा उठाउने अरु नै थियो ।’ रुम्बाले भने । भाडाबापत वर्षमा करिब ३ लाखसम्म उठ्ने रुम्बाको दावी छ । रोपवेमार्फत माथिबाट तरकारी अन्नपातलगायत खसीबोकासमेत बजारसम्म ल्याइन्थ्यो भने तलबाट कृषि सामाग्रीका अतिरिक्त निर्माणका सामाग्रीसमेत ढुवानी गर्ने गरिन्थ्यो ।

रोपवे सञ्चालनको लागि तल र माथि गरी दुई जना प्राविधिक खटाइएको थियो । तलबाट सामान माथि पठाउनुपर्दा माथिबाट झर्ने सामान भएन भने पानी भरिएको ड्रमको लोड पठाएर सामान माथितिर तान्ने गरिन्थ्यो । गुरुत्वाकर्षण शक्तिबाट नामटारमा नेपालमै पहिलोपटक ग्राभिटी रोपवे स्थापना भएको थियो । त्यसयता धादिङ र चितवनमा पनि सोही प्रकारको रोपवे स्थापना भइसकेको छ ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan