हेटौंडा–हेटौंडा–१३ नम्बर वडालाई बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणाको तयारी पूरा भएको छ । हेटौंडाका विभिन्न वडाहरुलाई बालमैत्री घोषणा गरिरहिएकोमा १३ नम्बर वडालाई पनि बालमैत्री शासनयुक्त घोषणा गर्न लागिएको हो ।
पुस २४ गते एक कार्यक्रमकाबीच वडालाई बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गर्न लागिएको सोमबार पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको छ । बालमैत्री स्थानीय शासनका लागि पूरा हुनुपर्ने ५१ वटा सूचकमध्ये ४५ वटा सूचकमा शत प्रतिशत नतिजा हासिल गरेको वडाध्यक्ष पेम्बा लामाले जानकारी दिए । उनका अनुसार अन्य २ वटा सूचकमा ९८ प्रतिशत, एकमा ९६ र अर्को एकमा ९५ प्रतिशत नतिजा प्राप्त भएको उनले बताए । यस्तै अरु २ वटा सूचकमा भने ८१ प्रतिशत मात्रै उपलब्धी हासिल भएता पनि बालमैत्री घोषणाको लागि न्युनतम ८० प्रतिशत आधारविन्दु भने कटेको छ । बालबालिकाहरुको मौलिक तथा आधारभूत अधिकारलाई सुनिश्चित गर्न सरकारले ल्याएको शासकीय अवधारणाअनुसार हेटौंडा उपमहानगरपालिकाले बालमैत्री अभियान चलाएर सूचक पूरा गर्न लागिपरेको हो ।
हेटौंडा उपमहानगरपालिकाले पनि बालमैत्री स्थानीय शासनयुक्त उपमहानगरपालिका घोषणाका लागि २०७९ भदौ ५ गते सरोकारवालाहरुको उपस्थितिमा प्रतिवद्धतामा हस्ताक्षर गरी भाद्र २४ गते नगर कार्यपालिकाबाट निर्णय गरिएको थियो । १३ नम्बर वडाले २०७९ मंसिर २५ गते सरोकारवालाको उपस्थितिमा प्रतिवद्धतापत्रमा हस्ताक्षर गरी अभियानलाई आत्मसात गर्दै कार्यान्वयनमा लागेको थियो । कुल ८ हजार ८ सय ४२ जनसंख्या रहेको वडामा २ हजार ५ सय ७४ जना बालबालिका रहेका छन् । पुस २४ गते बिहान १० बजे प्रभातफेरीसहित पदमपोखरीस्थित पार्टी प्यालेसमा घोषणा कार्यक्रम हुने वडाध्यक्ष लामाले बताए ।

