Search
Close this search box.

प्रशासनिक संयन्त्रप्रति एमाले मुख्य सचेतक वर्तौलाको असन्तुष्टी

हेटौंडा- नेकपा एमाले संसदीय दलका मुख्य सचेतक महेशकुमार वर्तौलाले मुलुकमा प्रशासनिक नेतृत्व गर्नेहरुले सही ढंगले काम नगरेका कारण जनतालाई समयमै सेवा दिन नसकेको बताएका छन् । उद्योग संघ मकवानपुरको मंगलबार भएको २३ औं वार्षिक साधारणसभामा बोल्दै वर्तौलाले मन्त्रिपरिषद्बाटै पारित भई कार्यान्वयनमा गएको योजनासमेत विविध कारण देखाउँदै कर्मचारीले रोकिरहेको भन्दै असन्तुष्टी व्यक्त गरे ।
१० वर्षअघि मन्त्रिपरिषद्बाट राष्ट्रिय गौरवको योजनामा राखी कार्यान्वयन सुरु भएको मकवानपुरको मयुरधाप औद्योगिक क्षेत्रको प्रसङ्ग उल्लेख गर्दै वर्तौलाले औद्योगिक क्षेत्र निर्माणको काम आजसम्म पूरा हुन नसक्नुमा प्रशासनिक नेतृत्व जिम्मेवार रहेको आरोप लगाए । हेटौंडा–१४ मा करिब ६२ वटा उद्योग स्थापना गर्न सकिने गरी डिपिआरसमेत तयार गरी २०७१ सालमा मन्त्रिपरिषद्बाट मयुरधाप औद्योगिक क्षेत्र स्थापनाको घोषणा भएको थियो ।  
‘झण्डै सात हजार जनालाई रोजगारी दिन सकिने गरी मन्त्रिपरिषद्ले राष्ट्रिय गौरवको परियोजनाको रुपमा घोषणा ग¥यो तर, झण्डै ९ वर्षदेखि प्रशासनिक संयन्त्रले कहिले लालपूर्जा बनायो, पछि लालपूर्जा हैन भोगाधिकार मात्रै दिने भन्यो । भूमिसुधार, नापी, वन मन्त्रालयमा फाइल घुमेको घुमै ग¥यो ।’ वर्तौलाले भने । ‘यो देशमा वनका कर्मचारी र वन मन्त्रालयले छुट्टै शासन चलाइरहेको छ । एउटा रुख काट्न नसकेका कारण फास्ट ट्रयाक निर्माणमा समेत ढिला भइरहेको छ । मयुरधाप औद्योगिक क्षेत्रमा अहिले त्यहि भयो ।’ वन मन्त्रालयको सचिवले मन्त्रीलाई समेत जानकारी नदिई मयुरधाप औद्योगिक क्षेत्र मध्यवर्ती क्षेत्रमा पर्ने भएकाले अनुपयुक्त हुने आशयको पत्र पठाएको भन्दै वर्तौलाले असन्तुष्टी व्यक्त गरे ।    
‘हामी राजनीतिकर्मीहरु नीतिगत नेतृत्व गर्छौँ, प्रशासनिक नेतृत्व गर्ने ब्युरोकेसीले हो । यो देशको प्रशासनिक नेतृत्वका कारणले गर्दा आज ठिक ढंगबाट डेलिभरी हुन सकेको छैन ।’ वर्तौलाले भने । राष्ट्रिय योजनाको रुपमा मन्त्रिपरिषद्बाट पारित गरेका योजनाहरुसमेत एक जना सचिवले मन्त्रीलाई थाहै नदिई अदलबदल गर्ने अवस्था निर्माण भएको उनको भनाइ छ । जनप्रतिनिधिहरुले जनताले दिएको म्यान्डेडबमोजिम काम गर्न आफूहरु तयार रहेको उल्लेख गर्दै वर्तौलाले मयुरधाप औद्योगिक क्षेत्र निर्माण गर्न सबै एकजुट भएर अघि बढ्नुपर्ने बताए ।
मुलुकमा औद्योगिक प्रवद्र्धन गरी, रोजगारी सिर्जना, निर्यात प्रवद्र्धनका गरी आयात प्रतिस्थापन गर्ने नीति परिमार्जन गर्नका लागि सरकारलाई प्रोत्साहित गर्ने वर्तौलाले प्रतिवद्धता जनाए । उद्योग संघ मकवानपुरका अध्यक्ष बद्रीनाथ शर्माले कार्यक्रममा मकवानपुरको उद्योग र औद्योगिक क्षेत्रको वर्तमान अवस्था र चुनौतीका बारेमा प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा प्रदेशसभा सदस्य एकलाल श्रेष्ठ, मकवानपुरका प्रमुख जिल्ला अधिकारी तिर्थराज चिलुवाललगायतले औद्योगिक विकासका लागि चाल्नुपर्ने कदमहरुको बारेमा सुझाव राखेका थिए । 

केही प्रतिक्रिया छ कि ?
यो समाचार पढेर कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan