हेटौंडा– बागमती प्रदेशका मुख्यमन्त्री बहादुसिं लामाले उद्योगी व्यवसायीले आफ्नो उद्यम व्यवसायमा गरेका लगानीको सुरक्षा गर्ने जिम्मेवारी राज्यले लिनुपर्ने बताएका छन् । बुधबार मकवानपुर उद्योग वाणिज्य संघको ५८ औं साधारणसभामा बोल्दै मुख्यमन्त्री लामाले उद्योग व्यवसायमार्फत रोजगार प्रवद्र्धन हुने भएकाले राज्यले पनि उद्योगी व्यवसायीलाई उचित सुरक्षा र सुविधा दिनुपर्ने धारणा राखे ।
उद्योगी व्यवसायीलाई अघि बढ्नको लागि ऐन कानुन नै बाधक बनिरहेकोमा त्यस्ता कानुन संशोधन गरी उद्योगी व्यवसायीमैत्री बनाउनुपर्ने उनको भनाइ छ । उद्योग सञ्चालन गर्न कानूनी प्रक्रिया झंझटिलो रहेकाले प्रदेश तहका त्यस्ता कानुन संशोधन गर्ने उनको प्रतिवद्धता थियो । उद्योगी व्यवसायी एकतावद्ध भएर अघि बढेमा सरकारले पनि साथ दिने उनले बताए । ट्रेडिङ व्यवसायलाई मात्रै नभई आफैँले पनि नयाँ नयाँ प्रविधिसँग जोडेर उत्पादन क्षेत्रमा लगानी गर्नुपर्नेमा मुख्यमन्त्री लामाको जोड थियो ।
कार्यक्रममा नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक महेशकुमार बर्तौलाले हेटौंडा औद्योगिक क्षेत्र र सरकारी स्वामितवको हेटौंडा सिमेन्ट उद्योगको बारेमा चिन्ता व्यक्त गरे । हेटौंडा औद्योगिक क्षेत्रलाई थप व्यवस्थित गर्दै हेटौंडा सिमेन्ट उद्योगलाई व्यवस्थित गरी चलाउनुपर्नेमा जोड दिए । हेटौंडा १४ स्थित मयुरधापमा औदोगिक क्षेत्र स्थापना गर्न १० वर्षअघि निर्णय भएका कारण वनको अवरोधका कारण अझै सफल नभएको वर्तौलाको भनाइ छ ।
त्यस्तै, संघीय ससंदको भौतिक पूर्वाधार विकास समितिका सभापति दीपकबहादुर सिंहले राज्यले उद्योगी व्यवसायीको हितमा काम नगर्दा पछिल्लो समय हेटौंडामा धेरै उद्योगहरु बन्द भएको बताए । उद्योग व्यवसायी मैत्री कानून, ऐन नहुँनाले समस्या भएको उनको भनाइ थियो । संघका अध्यक्ष कृष्णकुमार गुप्ता अग्रवालको सभाध्यक्षतामा भएको सभामा पूर्वमन्त्री एंव संघीय सांसद राजन केसी, बागमती प्रदेशका उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्री सुकमाया तामाङ, संघीय सदस्य विन्दवासिनी कंसाकार, प्रदेश सभा सदस्य प्रेमबहादुर पुलामी, लक्ष्मी श्रेष्ठ, भारती पाठक, नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश अध्यक्ष दिनेश श्रेष्ठ, जिल्ला समन्वय समितिका प्रमुख ललितबहादुर घलानलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।