अमेरिकामा बर्ड फ्लूबाट पहिलो मानव मृत्यु रेकर्ड गरिएको लुइसियानाको स्वास्थ्य विभागले जनाएको छ । उक्त बिरामी ६५ वर्ष भन्दा माथिका रहेका थिए ।
लुइसियाना स्वास्थ्य विभागले रिपोर्ट गरेको छ कि लुइसियानामा उच्च रोगजनक एभियन इन्फ्लुएन्जा (एचपिएआइ) को पहिलो मानव केसको साथ अस्पतालमा भर्ना भएका बिरामीको मृत्यु भएको छ । लुइसियाना स्वास्थ्य विभागले एक विज्ञप्तिमार्फत उक्त कुरा जनाएको हो । यो विरामी लुइसियानामा एच ५ एन १ को एक मात्र मानव केस हो ।
“विभागले बिरामीको परिवार र साथीहरूलाई आफ्नो प्रियजनको निधनमा शोक व्यक्त गर्दै गहिरो समवेदना प्रकट गर्दछ,” विज्ञप्तिमा भनिएको छ । चरा, कुखुरा वा गाईहरूसँग काम गर्ने व्यक्तिहरू उच्च जोखिममा रहेका विज्ञप्तिमा उल्लेख भएको छ । लुइसियानाको स्वास्थ्य विभागले आफू र आफ्नो परिवारलाई एच ५ एन १ बाट जोगाउने उत्तम उपाय भनेको जोखिमको स्रोतबाट बच्नु हो । यसको अर्थ जङ्गली चराहरू र बर्ड फ्लू भाइरसबाट सङ्क्रमित जनावरहरूसँग प्रत्यक्ष सम्पर्कबाट जोगिनु हो ।
यूएस सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन (सिडिसी) का अनुसार अमेरिकामा बर्ड फ्लुका कूल ६६ मानव केसहरू रिपोर्ट गरिएको छ । अमेरिकामा बर्डफ्लुका बिरामी देखिएका दश राज्यमा क्यालिफोर्निया, कोलोराडो, आयोवा, लुइसियाना, मिशिगन, ओरेगन, मिसौरी, वाशिङटन, विस्कन्सिन र टेक्सास रहेका छन् ।