हेटौंडा–हेटौंडा–१३ नम्बर वडालाई बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरिएको छ । बुधबार पदमपोखरीस्थित एक पार्टी प्यालेसमा भव्य समारोहकाबीच बालमैत्री वडा घोषणा गरिएको हो ।
हेटौंडा उपमहानगरपालिकाकी मेयर मीनाकुमारी लामा, उपमेयर राजेश बानियाँलगायतका जनप्रतिनिधि, कर्मचारी र स्थानीयको उपस्थितिमा वडालाई बालमैत्री घोषणा गरिएको हो । बालमैत्री स्थानीय शासनका लागि पूरा हुनुपर्ने ५१ वटा सूचकमध्ये ४५ वटा सूचकमा शत प्रतिशत नतिजा हासिल गरेको अन्य सूचकमा पनि न्यूनतम प्रतिशत पूरा गरेपछि वडालाई बालमैत्री घोषणा गरिएको हो । वडाध्यक्ष पेम्बा लामाका अनुसार अन्य २ वटा सूचकमा ९८ प्रतिशत, एकमा ९६ र अर्को एकमा ९५ प्रतिशत नतिजा प्राप्त भएको छ । यस्तै अरु २ वटा सूचकमा भने ८१ प्रतिशत मात्रै उपलब्धी हासिल भएता पनि बालमैत्री घोषणाको लागि न्युनतम ८० प्रतिशत आधारविन्दु भने कटेको छ । बालबालिकाहरुको मौलिक तथा आधारभूत अधिकारलाई सुनिश्चित गर्न सरकारले ल्याएको शासकीय अवधारणाअनुसार हेटौंडा उपमहानगरपालिकाले बालमैत्री अभियान चलाएर सूचक पूरा गर्न लागिपरेको हो ।
हेटौंडा उपमहानगरपालिकाले बालमैत्री स्थानीय शासनयुक्त उपमहानगरपालिका घोषणाका लागि २०७९ भदौ ५ गते सरोकारवालाहरुको उपस्थितिमा प्रतिवद्धतामा हस्ताक्षर गरी भाद्र २४ गते नगर कार्यपालिकाबाट निर्णय गरिएको थियो । १३ नम्बर वडाले २०७९ मंसिर २५ गते सरोकारवालाको उपस्थितिमा प्रतिवद्धतापत्रमा हस्ताक्षर गरी अभियानलाई आत्मसात गर्दै कार्यान्वयनमा लागेको थियो । कुल ८ हजार ८ सय ४२ जनसंख्या रहेको वडामा २ हजार ५ सय ७४ जना बालबालिका रहेका छन् । वडाध्यक्ष लामाको अध्यक्षतामा कार्यक्रम भएको थियो ।