हेटाैंडा- बागमती प्रदेशका प्रदेश प्रमुख दीपक प्रसाद देवकाेटाले भूकम्पीय सुरक्षा वृद्धिका लागि सबैलाई आग्रह गरेका छन् । २७ औं राष्ट्रिय भूकम्प सुरक्षा दिवस २०८१ को सन्दर्भमा देवकोटाले बुधबार सन्देश व्यक्त गर्दै भूकम्प सुरक्षा सचेतना बढाउनु आवश्यक रहेकाे बताएका हुन् ।
भूकम्पीय सचेतनामा वृद्धिको लागि उनले शुभकामना व्यक्त गरेका हुन् । वि.स. १९९० साल माघ २ गतेको विनाशकारी भूकम्पको सम्झना गर्दै सचेतना प्रवाह गर्ने अभिप्रायले भूकम्पीय सुरक्षा दिवस मनाउँदै आइएको छ । यसै सन्दर्भमा देवकोटाले सचता अभिवृद्धिका लागि सन्देश वक्तव्य प्रकाशन गरेका हुन् ।
भूकम्पीय सुरक्षा तथा सचेतना बढाउन हरेक वर्ष माघ २ लाई भूकम्प सुरक्षा दिवसको रुपमा मनाउने गरिन्छ । यस दिन विभिन्न चेतना र सावधानीमुलक कार्यक्रमसहित मनाइन्छ । यो वर्षको भूकम्प सुरक्षा दिवस “भूकम्पले सिकाएको पाठ: बलिया संरचना र सुदृढ पुर्वतयारीका साथ” नाराका साथ मनाइँदै छ ।
भूकम्प प्राकृतिक प्रकोप हो, यसलाई रोक्न सकिन्न तर सुरक्षित संरचना, सावधानी, पुर्वतयारीका उपायहरु अपनाएर यसबाट हुने क्षतिलाई न्यूनीकरण गर्न सकिन्छ । ‘भूकम्पलाई क्षतिको कारण मान्नुभन्दा हामी बलिया, सुरक्षित संरचना, पुर्वसावधानी र भूकम्प गइहालेमा गर्नुपर्ने प्रतिकार्यमा उचित ध्यान दिएर सुरक्षात्मक स्थितिमा रहनुपर्दछ‘ सन्देशमा भनिएको छ : ‘नेपाल भूकम्पीय जोखिम क्षेत्रमा रहेको कारणले पनि हामी धेरै सचेत हुनु जरुरी छ ।’
वि.स.२०७२ को बिनाशकारी भूकम्पपछि धेरै पराकम्प र अरु थुप्रै भूकम्पहरुले तर्साइरहेको सन्दर्भमा यसबाट आत्तिनुभन्दा सुरक्षात्मक उपायहरू अपनाउन पर्ने उनले सन्देशमा बताएका छन् । राज्यका सम्पुर्ण निकाय समेत पुर्वतयारीका साथ रहनुपर्ने उनले सझाव दिए ।
प्रदेश प्रमुख देवकोटाले इतिहासको विभिन्न कालखण्डमा गएका भूकम्पमा परी ज्यान गुमाउने ज्ञात अज्ञात व्यक्तिहरुप्रती श्रद्धाञ्जली समेत अर्पण गरेका छन् ।

