इलाम- इलामको चुलाचुली गाउँपालिका –५ की रुमा राईको आर्थिक अवस्था दयनीय छ । बिहान बेलुकाको छाक टार्न धौधौ पर्ने रुमा सुत्केरी हुँदा वडाध्यक्षसहित स्थानीयले उनलाई घरमै भाले कुखुरा उपहार दिएका छन् ।
चुलाचुली –५ का वडाध्यक्ष बविन राई सहितका जनप्रतिनिधिले भाले, घिउ र हर्लिक्स बोकेर घरमा आएको उनले बताए । घरमै पोसीलो खानेकुरा पाउँदा खुशी लागेको रुमाले बताइन् । ‘घरमा कोही नहुँदा र खानेकुराको अभावका बेला पोसिलो खानेकुरा पाउँदा नजिकको सरकार साथमै रहेछ भन्ने महसुस भएको छ ।’
रुमा मात्र होइन, चुलाचुली –५ चपेटीका धनकुमारी राईको कथा पनि उस्तै छ । सामान्य परिवारका धनकुमारी सुत्केरी भएको बेला जनप्रतिनिधिको समूह घरमै पुगेर पोसिलो खानेकुरा दिँदा उहाँलाई पनि सरकार साथमै रहेको महसुस भएको बताए ।
चुलाचुलीले आर्थिक वर्ष २०८०–८१ बाट सुरक्षित मातृत्व प्रसुती स्याहार कार्यक्रम सुरु गरी घरमै पोषिलो खानेकुरा वितरण गर्न थालेको छ । सुरक्षित मातृत्व र जन्मदर्तालाई प्रभावकारी बनाउन वडाले सुरु गरेको कार्यक्रम अन्तर्गत आर्थिक वर्ष २०८०–८१ मा ४५ जना सुत्केरीलाई भालेसहितको पोसिलो खानेकुरा विवरण गरिएको थियो ।
चालु आर्थिक वर्षको ६ महिनामा वडाका २५ जना सुत्केरीलाई भाले, घिउ र हर्लिक्ससहितका पोसिलो आहार वितरण गरी सकिएको वडा ५ का वडाध्यक्ष बविन राईले जानकारी दिए । वडाका मांसाहारी सुत्केरीलाई घरमै गएर वडाले एउटा भाले, एक किलोग्राम घिउ र आधा किलोग्राम हर्लिक्स दिइने गरिएको छ ।
साहाकारी सुत्केरीलाई वडाले दुई किलोग्राम घिउ र एक किलोग्राम हर्लिक्स वितरण गर्दै आएको छ । बच्चा जन्मिएको ३५ दिन भित्रमा वडा कार्यालयमा जन्मदर्ता गराउनु पर्ने सरकारको नियमलाई प्रभावकारी बनाउन वडाले उक्त अभियान सञ्चालन गरेको वडाध्यक्ष राईले जानकारी दिए ।

