नेपाल राष्ट्रिय शिक्षक संगठन मकवानपुरको बाँकी किर्तिमानी जिम्वेवारी पूरा गर्न मुकुन्द न्यौपानेको नेतृत्वमा नयाँ कमिटी सर्वसम्मत चयन भएको छ । संगठनको हेटौंडामा सम्पन्न १४औं जिल्ला अधिवेशनले न्यौपानेको अध्यक्षतामा ३१ सदस्यीय कार्यसमिति चयन गरेको हो ।
संगठनको उपाध्यक्षमा रुपचन्द्र गोपाली र चन्द्रादेवी लामा चयन हुँदा सचिवमा गोपीरमण प्याकुरेल चयन भएका छन् भने सहसचिवमा सविता लामिछाने चयन भएका हुन् ।
यसैगरी, कोषाध्यक्षमा भावना सापकोटा चयन हुँदा सहकोषाध्यक्षमा दिपेश लामा चयन भएका छन् । सदस्यहरुमा सविता तिमल्सिना, भरत पोखरेल, सरोज फुँयाल, ईश्वर आले, रत्नबहादुर स्याङ्तान, गीता पौडेल, लालुमाया रुम्बा, सावित्री अधिकारी, अमृता भट्ट, अनिलकुमार यादव, रामशरण दाहाल, गीताकुमारी न्यौपाने, हरिहर खनाललगायत रहेका छन् ।
मोहन प्रसाद शर्माको संयोजकत्वमा गठित पाँच सदस्यीय अध्यक्ष मण्डलमा निर्वाचन संयोजक सुजन तिमल्सिना र माईन्यूट लेखन समितिमा सुनिल गौतम संयोजक रहेका थिए ।
श्रीराम दाहाल नेतृत्वको कमिटीले देशकै सबैभन्दा बढी सदस्य शिक्षक संगठनमा आवद्ध संख्या भएको जिल्ला निर्माण गरिरहँदा न्यौपानेको नयाँ नेतृत्वलाई त्यो जोगाउँदै सदस्य संख्या अझै थप गर्नुपर्ने चुनौति छ । त्यसो त सम्पूर्ण शिक्षकहरुको मात्र नभएर पेशाकर्मीहरुकै पहिलो पेशागत आन्दोलन उठाउने मकवानपुर जिल्ला देशकै नमूना बनिरहनुपर्ने पनि चुनौति छदै छ ।
निवर्तमान अध्यक्ष श्रीराम दाहालले नेतृत्व हस्तान्तरण गर्दै गर्दा नवनिर्वाचित अध्यक्ष मुकुन्द न्यौपानेले शिक्षक संगठनको आफ्नै भवन निर्माण प्रक्रियालाई प्राथमिकता दिने बताए । तर यसमा सबै पक्ष शिक्षकहरुकै साथ सहयोग अपरिहार्य रहेको समेत उनकोअपिल छ । निवर्तमान अध्यक्ष श्रीराम दाहाल भने केन्द्रीय प्रतिनिधिमा सर्वसम्मत भएका छन् । दाहालले देशको शिक्षा पद्धति सुधारका लागि अव यूवा नेतृत्व आवश्यक रहेको बताउदै आफ्नो लक्ष त्यतातर्फ रहेको समेत खुलासा गरे । गतवर्ष काठमाण्डौ केन्द्रित निर्णायक शिक्षक आन्दोलनले सही नेतृत्व नपाउदा आन्दोलनले उपलब्धी हासिल गर्न नसकेको जिकिर गरे ।

यता उद्घाटन सत्रलाई संवोधन गर्दै नेपाल सरकार संसदीय दलका प्रमुख सचेतक महेश बर्तौलाले शिक्षा क्षेत्रको बेथिती अन्त्य गर्ने आफ्नो प्राथमिकता रहेको समेत बताएका छन् । शिक्षकहरुले लामो समयदेखि पर्खिरहेको विद्यालय शिक्षा विधेयक यसपटककै हिउँदे अधिवेशनमा पारित भएर कार्यान्वयनमा आउने बताए । पछिल्लो समय चर्चा पाएको योगदानमा आधारित निवृत्तिभरण अध्यादेश शिक्षकका हकमा अध्यादेश घोषणा भएको मितिपछि नियुक्त हुनेमा मात्र लागू हुने बर्तौलाले बताए । यसको आधिकारिकता के हो भन्ने प्रश्नमा बर्तौलाले प्रधानमन्त्री तथा अर्थमन्त्रीसंग छलफल भएर नै शिक्षामन्त्री विद्या भट्टराईले सार्वजनिक अभिव्यक्ति दिएको हुनाले यसबारे भ्रममा नपर्न सम्वन्धित सबैलाई आग्रह समेत गरे ।