कैलाश- मकवानपुरकाे विकट कैलाश गाउँपालिकाले बाल बिवाह न्युनीरकणका लागि बिगतका वर्षदेखि नै सुरु गरेकाे चेली प्राेत्साहन कार्यक्रमलाई यस वर्ष पनि निरन्तरता दिएकाे छ । कम्तिमा दस जाेड दुई पास गरी २० वर्ष उमेर पार भएपछि मात्र बिवाह गर्ने चेलीलाई गाउँपालिकाले नगदसहित सम्मान गरेकाे हाे ।
मंगलबार गाउँपालिकाकाे १५ ओैँ हिउँदे अधिवेशनका अवसरमा ९ जना चेलीलाई नगदसहित सम्मान गरिएकाे हाे । गाउँपालिकाका अध्यक्ष लाेक मुक्तान, उपाध्यक्ष बालकुमार मल्ल, प्रमुख प्रशासकीय अधिकृत अमुल श्रेष्ठलगायतले प्रति व्यक्ति २० हजार रुपैयाँ नगदसहित सम्मानपत्र प्रदान गरेका हुन् ।
सम्मानित हुनेहरुमा अम्बिका अर्याल, अनिता रुम्बा, कैलाश ९ कि कल्पनामाया घलान, कैलाश ९ कि सविना रुम्बा, वडा नम्बर ६ कि हिरा मुक्तान, वडा नम्बर ९ कि देवकी वर्ताैला, वडा नम्बर १० कि लक्ष्मी ब्लाेन, वडा नम्बर शान्ति तितुङ र वडा नम्बर १० कि अबिगेल प्रजा रहेका छन् ।
गाउँपालिका अध्यक्ष मुक्तानले विवाह अघि कम्तिमा पनि १० जाेड २ पास गर्नुपर्छ र २० बर्ष पूरा हुनुपर्छ भन्ने सन्देश दिनका लागि प्राेत्साहन कार्यक्रम राखिएकाे बताए । उनले देशभरका स्थानीय तहहरुमध्ये याे कार्यक्रम पृथक कार्यक्रम भएकाे बताए । गउँघरमा छाेरीलाई वालविवाह गर्ने, पकीईबाट बञ्चित गर्ने चलन अझै रहेकाे बताउँदै उनले यस्ता कार्यक्रमले सकारात्मक सन्देश जाने विश्वास व्यक्त गरे ।
उपाध्यक्ष बालकुमार मल्ल ठकुरीले कार्यक्रमलाई बृहत रुपमा विस्तार गर्दै लैजाने बताए । उनले २० बर्ष पूरा भएपछि मात्र विवाह गर्न चेतना फैलियाेस र परिपक्व भएपछि मात्र विवाह गर्नुपर्छ भन्ने सन्देश दिन याे कार्यक्रम आयाेजना गरिएकाे बताए । गाउँपालिकाले हरेक वर्ष चेली प्राेत्साहन कार्यक्रमका लागि बजेट विनियाेजन गर्दै आएकाे छ ।

