मकवानपुरका करिब २२ हजार बढी छात्राहरूलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप (एचपिभी) लगाइने भएको छ । मंगलबार स्वास्थ्य कार्यालय मकवानपुरको आयोजनामा भएको जिल्ला स्तरीय खोप समन्वय समिति तथा सञ्चारकर्मीहरुको अभिमुखीकरण कार्यक्रममा सो खोप अभियान बारे जानकारी दिइएको हो।
स्वास्थ्य कार्यालय मकवानपुरका प्रमुख कृष्णबहादुर मिजारले देशव्यापी अभियानका रुपमा सञ्चालन हुने अभियान माघ २२ देखि फागुन ६ गतेसम्म सञ्चालन हुने जानकारी दिए । उनका अनुसार जिल्लाको १० पालिकाभित्रका विभिन्न विद्यालयमा अध्यनरत २२ हजार ७१३ जना छात्रालाई एचपिभी (ह्युमन प्यापिलोमा भाइरस) खोप लगाइने छ ।
जिल्लाका कक्षा ६ देखि कक्षा १० सम्मका १० देखि १४ वर्ष उमेर समुहका छात्रालाई लक्षित गर्दै खोप अभियान सञ्चालन गरिने छ। जिल्लाका २४० वटा विद्यालय र ११० वटा स्वास्थ्य संस्थाबाट खोप अभियान सञ्चालन गरिनेछ ।
विद्यालय जाने कक्षा ६ देखि १० सम्मका २२ हजार ५९ जना छात्रालाई विद्यालयमै र विद्यालय नजाने करिब ६५४ जना छात्राहरु लाई खोप केन्द्रबाट खोप लगाइने तयारी गरिएको छ । खोप अभियानमा जिल्लामा ३६७ जना तालिम प्राप्त स्वास्थ्यकर्मी र ७३४ जना स्वमसेवक परिचालन गरिने छ ।
जिल्लाका सबै स्थानीय तहहरूसँग समन्वय गरी खोप अभियान प्रभावकारी बनाउन कार्यक्रममा खटिने स्वास्थयकर्मीहरुलाई तालिम दिईसकेको मिजारले जानकारी दिए ।

