हेटाैंडा- बागमती प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले सहिद दिवस २०८१ को अवसरमा सहिदहरु प्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् ।
प्रदेश प्रमुख देवकोटाले बुधबार सहिद दिवसको सन्दर्भमा शुभकामना सन्देश जारी गर्नुहुँदै सहिदहरुको योगदानलाई उच्च सम्मान सहित श्रद्धाञ्जली व्यक्त गरेका गरेका हुन् । इतिहासका विभिन्न कालखण्डमा देशको निम्ति आफ्नो प्राणको आहुती दिने ज्ञात अज्ञात सहिदहरूप्रति उनले श्रद्धाञ्जली अर्पण गरेका हुन् ।
सहिदहरूको बलिदानको मर्मलाई बुझी समृद्ध नेपालको साझा सपना साकार पार्न जिम्मेवारी पूर्वक आ आफ्ना कर्तव्य पालन गर्नमा सबैलाई प्रेरणा मिलोस् भन्ने कामना व्यक्त गरे ।
‘वर्षौं पहिले कसैले रोपेको बिरुवाले आज छहारी र शीतलता प्रदान गरेजस्तै देशको निम्ति जीवन उत्सर्ग गर्ने राष्ट्रप्रेमी मानवको बलिदानको परिणामले आज हामी सम्पूर्ण नेपाली स्वाधीन, स्वतन्त्र र स्वाभिमानी भएर अग्रगामी मार्गमा छौँ’ सन्देशमा भनिएको छ । ‘सहिदहरूको त्याग, साहस र बलिदानको गौरवपूर्ण गाथाले देशलाई माया गर्न र आफ्नो कर्तव्यमा निष्ठापूर्वक लागिरहन हामीलाई हौसला मिल्ने कुरामा म बिश्वस्त छु ।’
आजको यो महत्वपूर्ण दिनमा सम्पूर्ण राजनैतिक दल र आम नागरिक गम्भीर भई आत्मसमीक्षा गरेर देशको हितलाई सर्वोपरी राखी अघि बढेमा मात्र सहिदप्रति वास्तविक सम्मान हुनेछ विज्ञाप्तिमा भनिएको छ । संघीय लोकतान्त्रिक गणतन्त्रको यो उत्कृष्ट व्यवस्था तिनै महामानवका बलिदानको उपज भएको उनले उल्लेख गरेका छन् ।

