Search
Close this search box.

कैलाशकाे बैकुण्ठमा पनि चल्ने भयाे जीपलाइन

पाेखराकाे सराङकाेटमा रहेकाे जीपलाइनकाे अवलाेकनमा पुगेकाे गाउँपालिकाकाे टाेली

कैलाश- मकवानपुरको कैलाश गाउँपालिका वडा नम्बर २ बैकुण्ठमा जीपलाइन सञ्चालनमा आउने भएको छ । निर्माण कार्य पूरा भएको जीपलाईनमा डमी परीक्षण  पश्चात सञ्चालन सुरु गरिने गाउँपालिकाका अध्यक्ष लोकबहादुर मोक्तानले बताए ।

एक साताभित्र परीक्षण गर्ने तयारी हाम्रो छ,  सोही अनुसार काम अगाडी बढि रहेको उहाँले बताउनुभयो । धार्मिक तथा पर्यटकीय प्रवर्धनका लागि बुहवर्षिय योजना बनाई ठेक्का प्रणालीमा कार्य गरिएको अध्यक्ष मोक्तानले बताए । कैलाश र बैकुण्ठका दुई धार्मिक तथा पर्यटकीय स्थलका पहाडलाई जोड्ने गरी जीपलाईन निर्माण गरिएको उनकाे भनाई रहेको छ ।

हामीले १२ सय मिटर लामो जीपलाईन निर्माण गरेका छौँ,जीपलाईन बाहेकका अन्य संरचना निर्माण गर्न समेत बाकीँ रहेको उनले बताए । ‘आव २०८०-०८१ मा फोरजी कम्पनीले सम्भाव्यता अध्ययन पश्चात हामीले निर्माणको कार्य अघि सारेका थियौँ, अब काम सकिएकाे छ, परीक्षण पश्चात सञ्चालन गर्छौ’ अध्यक्ष मोक्तानले भने ।

शनिबार कास्की साराङकोटमा सञ्चालित जीपलाईनको अध्यक्ष मोक्तान सहित पालिका उपाध्यक्ष बालकुमार मल्ल ठकुरी, प्रमुख प्रशासकीय अधिकृत अमुल श्रेष्ठ, लेखा प्रमुख नवीन धिताल, योजना शाखा प्रमुख नरेन्द्र दत्त भट्ट र पालिकाका प्राविधिकहरुको टोलीले आवश्यक अध्ययन अवलोकन गरेका थिए ।

जीपलाईको अप्रेसन तथा ब्रेकिङ्ग सिस्टम बारेमा अध्ययन गरिएको योजना शाखा प्रमुख नरेन्द्रदत्त भट्टले बताए । ‘गिनिज बुक वल्र्ड रेकर्ड राख्न सफल भएको १८ सय मिटर लामो जीपलाईनको प्राविधिक पक्षको अध्ययन गरेका हौँ, अब हामी पनि छिट्टै परीक्षण गरी जीपलाईन सञ्चालनमा ल्याउने छौं, भट्टले भने ।
जीपलाईन सञ्चालनका लागि आवश्यक कर्मचारीलाई सीप तालिम सहित आवश्यक तयारी भने गर्न बाकीँ रहेको छ ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan