Search
Close this search box.

हेटौंडा आँखा अस्पतालः पैसा तिर्ने तुरुन्तै छिर्छन्, बिमाका बिरामी दिनभर कुर्छन्

हेटौंडा–हेटौंडा सामुदायिक आँखा अस्पतालले स्वास्थ्य बिमा गरेका बिरामीलाई बेवास्ता गर्न थालेको छ । अस्पतालमा तोकिएको शुल्क तिरेर आँखा जाँच गर्न आउने बिरामीलाई सिधै आँखा जाँचको व्यवस्था गरिए पनि स्वास्थ्य बिमाका बिरामीलाई भने दिनभरजसो लाइनमा बस्नुपर्ने अवस्था आएपछि स्वास्थ्य बिमा गराएका सेवाग्राही आक्रोशित बनेका छन् ।

आँखा उपचारमा अब्बल साबित हुँदै आएको हेटौंडा सामुदायिक आँखा अस्पतालले बिमा भएका वा नभएका बिरामीलाई बिहान ८ बजेदेखि जाँच गर्न सुरु गर्ने गर्छ । बिहानी सेवाको शुल्क एक सय पचास रुपैयाँ निर्धारण गरिएको छ भने विशिष्टिकृत सेवा लिन चाहनेलाई रु चार सय पचास रुपैयाँ तिरेर दिनको ३ः३० बजेबाट मात्र जाँच गर्ने गरिन्थ्यो । तर, अस्पतालले गत जनवरी १ देखि विस्तारित सेवालाई फास्ट ट्रयाकको रुपमा सुरु गरिएको भन्दै दिनको १ बजेबाटै महङ्गो शुल्क तिर्ने बिरामीलाई लाइन बिनै सोझै जाँच गर्ने व्यवस्था थालेपछि स्वास्थ्य बिमाका बिरामीले हैरानी खेप्नुपरेको हो ।

‘बिहानैदेखि लाइनमा बसेका बिरामीहरु पालो कुरिरहेका हुन्छन्, उनीहरुको जाँच नसकिँदै दिउँसोको टिकट काट्ने बिरामी थपिन्छन्, उनीहरुलाई पहिला जाँच गर्न पठाउँछन् । यसो गर्दा बिहानैदेखि लाइनमा बसेकाहरु चाहिँ कुरेको कु्रै गर्नुपर्ने रहेछ ।’ एक जना सेवाग्राहीले गुनासो गरे । अस्पतालमा दैनिक करिब ३ सय जना बिरामी आउने गर्दछन् । त्यसमध्ये करिब २ सय जना बिरामी स्वास्थ्य बिमाबाटै उपचार गराउन आउने गरिएको अस्पताल प्रशासनको भनाइ छ । बिहानैदेखि टिकट काटेर लाइनमा बसेका बिरामी नसकिँदै फास्ट ट्रयाकबाट सरासर सेवा लिन आउनेका कारण बिमा गराएका बिरामीले अस्पतालमै दिन बिताउनुपरिरहेको छ ।

स्वास्थ्य बिमाको बिरामीको उपचार खर्चबापतको रकम स्वास्थ्य बिमा बोर्डले लामो समयदेखि भुक्तानी नदिएपछि आफूहरु अप्ठेरोमा परेकाले सञ्चालन खर्च जुटाउनकै लागि तोकिएको शुल्क बुझाउनेलाई प्राथमिकता दिइएको अस्पताल प्रशासनले स्वीकार गरेको छ । ‘हामीले स्वास्थ्य बिमाका बिरामीलाई जाँचै नगराउने भनेका छैनौँ तर, महङ्गो शुल्क तिरेर दिउँसोको सेवा लिन आउनेहरुलाई र बिमाका बिरामीलाई छुट्टै लाइन बनाएर पालैपालो गरेर जाँच गर्ने गरिएको छ ।’ अस्पतालका प्रशासन प्रमुख सुधीर श्रेष्ठले भने । स्वास्थ्य बिमा गरेका बिरामीको चाप पनि बढी हुने भएकाले शुल्क तिर्नेहरुको तुलनामा केही ढिला भएको र बेलुका ५ बजेसम्म भए पनि सोही दिन जाँच गरेर भ्याउने गरिएको उनले बताए । स्वास्थ्य बिमा बोर्डले अस्पताललाई भुक्तानी गर्नुपर्ने रकम ३ करोड रुपैयाँ नाघिसकेको जनाइएको छ ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan