हेटौंडा । लामो समयदेखि हेटौँडा अस्पतालले संचालन गर्न नसकेको मुटु रोग सम्बन्धी उपचार सेवा विस्तार गर्ने तयारी गरेको छ । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानले अस्पतालमा सेवा विस्तारको तयारी गरेको हो ।
रोटरी क्लब अफ मकवानपुरले तीन वर्ष अगाडि लगभग एक करोड बराबरको उपकरण अस्पताललाई हस्तान्तरण गरेको थियो । मुटु रोग विशेषज्ञ नहुँदा उक्त उपकरण थन्किएर रहेको थियो । विशेषज्ञ डाक्टरको अभावमा मुटु रोगीका जाँचका लागि ल्याइएको उपकरण विगत एक वर्षदेखि थन्किएको थियो । सो उपकरण प्राप्त भएसँगै अस्पतालले मुटु रोग सम्बन्धी विशेषज्ञ डाक्टर नियुक्तिको पहल गरेको थियो । तर, डाक्टर नपाउँदा सेवा विस्तारको काम अघि बढ्न सकेको थिएन ।
मेसिनरी सामान हुँदा पनि सम्बन्धित डाक्टर नहुदा प्रयास गर्दा पनि अस्पतालमा उक्त सेवा सुरु गर्न कठिन भएको थियो । विषेशगरी अस्पतालमा विशेषज्ञ डाक्टर नहुँदा सेवा सञ्चालनमा बाधा पुगेको थियो । अस्पतालमा सो सेवा सञ्चालनको उपकरण हुँदा पनि जनशक्ति नहुँदा सेवा सञ्चालनमा बाधा पुगेको थियो ।
मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्ट्रार तथा हेटौँडा अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष भीमसागर गुरागाईँका अनुसार सम्भव रहेसम्म आगामी आइतबारबाटै सेवा सञ्चालनको तयारी रहेको छ । टिचिङ अस्पतालमा अध्ययनरत मुटु रोग विशेषज्ञ डा. विकेश श्रेष्ठ अस्पतालमा हाजिर भए लगत्तै सेवा सञ्चालनको तयारी गरिएको जानकारी दिइएको छ । अस्पतालमा उक्त सेवा थप भएसँगै मुटु सम्बन्धी स्वास्थ्य समस्या हुँदा भरतपुर तथा काठमाडौँ जानुपर्ने बाध्यता अब छिट्टै अन्त्य हुने उनले बताए ।
अस्पतालमा मुटु रोग विशेषज्ञ प्राप्त भयसँगै उपचार र इको, ईसीजी, टीएमटी जस्ता परीक्षण गर्न बाहिर जानुपर्ने बाध्यता हटेको छ । बिरामीको अत्यधिक चाप रहने अस्पतालमा चिकित्सक नभएर उपकरण थन्काउन बाध्य भयसँगै प्रतिष्ठानले पटक पटक पहल गरेपछि सङ्घीय सरकारले टिचिङबाट अध्यापन गरेका डा. श्रेष्ठलाई पठाएको रजिष्ट्रार गुरागाईँले बताए । प्रतिष्ठान र अस्पतालले गत वैशाखमा पनि विशेषज्ञ डाक्टर नियुक्तिका लागि आवेदन माग गरेको थियो । माग अनुसार एक चिकित्सकको आवेदन परेपनि मापदण्ड अनुकूल नहुँदा नियुक्त गर्न कठिन भएको थियो ।
प्रतिष्ठानले गत फागुन १३ मा पनि एक जना मुटु रोग विशेषज्ञ नियुक्तिका लागि आवेदन माग गरेको उनले बताए । अस्पतालबाट तत्काल मुटु रोग सम्बन्धी ओपिडी सेवा सञ्चालन गरिने र माइनर अपेरेशनहरु गर्न भने बाहिरी जिल्ला जानु पर्ने उनले बताए । २ चिकित्सकबाट हाल उपचार तथा परीक्षण गर्ने र क्रमशः व्यवस्थापन गर्दै आगामी वर्षमा थप विशेषज्ञ सेवा सहित सर्जरी लगायतका सेवा विस्तार गर्ने योजना रहेको उनको भनाइ छ ।

