Search
Close this search box.

माओवादीकाे साथ लिएरै संविधान संशाेधन गर्छाैँ: महामन्त्री शर्मा

मनहरी- नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेकपा माओवादी केन्द्रकाे सहमतिमै संविधान संशाेधन गरिने जिकिर गरेका छन् । नेपाली कांग्रेस मनहरी गाउँपालिकाकाे आयाेजनामा बिहीबार मनहरीमा आयाेजित क्रियाशील तथा अगुवा कार्यकर्ता भेलालाई सम्बाेधन गर्दै महामन्त्री शर्माले संविधान संशाेधन गर्न दुई तिहाई समर्थन आवश्यक रहेकाले माओवादीकाे साथ अनिवार्य हुने र सबैकाे भावनालाई समेटेर सर्वसम्मतबाट संविधान संशाेधन हुने विश्वास व्यक्त गरे ।

संविधान संशाेधन गर्दा कम्तिमा ५ वर्ष टिक्ने प्रधानमन्त्री हुने व्यवस्था संविधानमा गरिनुपर्ने उनकाे भनाइ छ । वर्तमान सरकारले ल्याएकाे अध्यादेशकाे विराेध भइरहेकाे भन्दै उनले अहिलेकाे अध्यादेशकाे विराेध गर्नुकाे कुनै अर्थ नभएकाे बताए । ‘सबै अध्यादेशकाे विराेध नै गर्नुपर्छ भन्ने छैन, हिजाे केपी शर्मा ओलीले ल्याएका अध्यादेशकाे हामीले विराेध गरेका थियाैँ, त्यसमा दल फुटाउने नियतका साथै संविधानकै भावनामाथि प्रहार हुने अवस्था आएकाले विराेध गरेका थियाैँ ।’ शर्माले भने-‘अहिलेकाे अध्यादेशमा त्यस्ताे कुनै समस्या छैन ।’ अध्यादेशमार्फत कम्पनी दर्तामा सहजीकरण, आइटी क्षेत्रकाे प्रवर्धन, भूमिहिनकाे जग्गा प्राप्तिकाे लागि बाटाे खुला भएकाे उनले बताए ।भूमिसम्बन्धी अध्यादेश पारित नभएकाेमा जसपाले समर्थन गरे अघि बढ्ने र समर्थन नभए सरकारले विधेयककाे रुपमा ल्याउने तयारी गरेकाे पनि उनले बताए । भूमिसम्बन्धी ऐन आएपछि लामाे समयदेखि भाेगचलन गर्दै आइरहेकाे जग्गाकाे लालपूर्जा नपाएकाहरुले लालपूर्जा पाउने बाटाे खुल्ने महामन्त्री शर्माले बताए । मनहरीकाे भूमिहीनका समस्याका विषय राष्ट्रिय मुद्धा भएकाले आफूले  उठाउने उनले प्रतिवद्धता जनाए ।

कार्यक्रममा बाेल्दै नेपाली कांग्रेस बागमती प्रदेश सभापति ईन्द्रबहादुर बानियाँले मनहरीका भूमिहीनका समस्या समाधान वर्तमान सरकारले गर्ने विश्वास व्यक्त गरे । ‘वर्षाैँदेखिका ऐलानी जनताले नम्बरी नेतालाई भाेट हालेर पठाए, अब भूमि सम्बन्धी कानुन ल्याइँदैछ । त्याे चाडै पारित हुनेछ, भूमिहीनले जग्गा पाउने छन् ।’ बानियाँले भने । अहिलेकाे व्यवस्था सबैभन्दा राम्राे व्यवस्था भएकाे भन्दै व्यवस्थाकाे बदनाम गराउनु नहुने बानियाँले धारणा राखे ।

कार्यक्रममा नेपाली कांग्रेस मकवानपुरका सभापति  वुद्ध लामा, निवर्तमान कार्यबहाक सभापती, विष्णु लामिछाने
पूर्व राज्यमन्त्री सन्तबहादुर चेपाङ, कांग्रेस क्षेत्र नम्बर २ का सभापति लाेक मुक्तान, क्षेत्र नम्बर १ का सभापति दामाेदर खनाल, क्षेत्र नम्बर २ ख का सभापति रन्जन कालाखेती, महाधिवेशन प्रतिनिधि राजकुमार मल्ल, ठाकुरराम तितुङ, नेता पदम तितुङलगायतले मन्तव्य व्यक्त गरेका थिए । पार्टी मनहरी सभापति प्रकाश वर्ताैलाकाे अध्यक्षतामा कार्यक्रम भएकाे हाे ।

कार्यक्रमकैबीच मनहरीकै अग्रज पार्टी नेताहरुलाई सम्मान गरिएकाे थियाे । विभिन्न पार्टी परित्याग गरी १ दर्जनभन्दा बढी नेता कार्यकर्ता कांग्रेसमा प्रवेश गरेका थिए ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan