हेटाैंडा- मकवानपुरगढी गाउँपालिकामा ११५ औं महिला दिवसको अवसरमा अन्तरक्रिया तथा छलफल कार्यक्रम भएको छ। ‘सबै महिला तथा बालबालिकाको लागि: अधिकार समानता र सशक्तीकरण’ भन्ने नाराको साथ मकवानपुरगढी गाउँपालिकाको आयोजनामा उक्त कार्यक्रम भएको हो ।
मकवानपुरगढी गाउँपालिकाकी उपाध्यक्ष मानकुमारी पाख्रिन नेपालीको सभाध्यक्षतामा भएको कार्यक्रममा
गाउँपालिका अध्यक्ष दोर्जे लामा स्याङ्ताङको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि लामाले संस्कृतिको नाममा फैलिएको विकृतिलाई महिलाहरुले छोड्नपर्ने बताउँदै त्यस्ता संस्कृतिलाई तोड्न महिलाहरु शिक्षित हुँदै अगाडि बढ्नुपर्ने कुरामा जोड दिए । महिलाले आफ्नो लडाइँ आफै लड्नु पर्ने उनको भनाइ थियो ।
गाउँपालिका उपाध्यक्ष नेपालीले महिलाको नेतृत्वलाई अझै पनि विश्वास नरहेको बताउँदै आफ्नो लडाइँ सधै लडिरहन महिलाहरुलाई प्रेरणा दिइन् । पछिल्लो समय महिलाको पनि नेतृत्व तहमा सहभागिता बढ्दै गएको बताउँदै यो स्थानसम्म आउँदा विगतमा महिलाले लडेर पाएको अधिकार भएको उनको भनाइ थियो ।
मेलमिलापकर्ता तथा अधिवक्ता रामशरण लामिछानेले सामाजिक न्यायमा ऐक्यबद्धता शीर्षकमा प्रस्तुतीकरण दिएका थिए ।
कार्यक्रममा गाउँपालिका-२अध्यक्ष बखान सिं पाखृन,
३ नम्बर वडाध्यक्ष भागवत घिमिरे, ४ नम्बर वडाअध्यक्ष अर्जुनप्रसाद तिमल्सिना, कृषि पेशामा आवद्ध किसानहरुको उपस्थिति रहेको थियो ।

