Search
Close this search box.

भेट्रान्स कपको उपाधि किङ्कमलाई


हेटौंडा-हेटौंडा भेट्रान्स क्लबको आयोजनामा फागुन २२ गतेदेखि सुरु भएको दशौं राष्ट्रिय हेटौंडा भेट्रान्स कप एट ॅए’ साइड रनिङशिल्ड फुटबल प्रतियोगिताको उपाधि किङ्कम भेट्रान्स काठमाडौंले जितेको छ ।
हेटौंडामा सोमबार सम्पन्न फाइनलमा फ्रिडमफाइटर भेट्रान्स काठमाडौंलाई टाइब्रेकरमा ३–२ ले पराजित गर्दै किङ्कम भेट्रान्सले नगद एक लाख ५० हजार पाँच सय पचपन्न रुपैयाँ राशि हात पार्न सफल भएको हो । फ्रिडमफाइटरले नगद ७५ हजार ५ सय ५५ रुपैयाँ र शिल्ड प्राप्त गरेको छ ।
खेलको १४ औ मिनेटमा फ्रिडमफाइटरका कृष्ण मालाकारले गोल गर्दै समूहलाई अग्रता दिलाए पनि २७ औं मिनेटमा किङ्कमका जगत्‌मान लामाले गोल गर्दै बराबरी बनाएका थिए । निर्धारित समयमा दुवै समूहबाट बराबरी गोल भएपछि खेल टाइब्रेकरमा पुगेको थियो ।
प्रतियोगिताअन्तर्गत् सर्वश्रेष्ठ कोच किङ्कमका राजकुमार पन्त, उत्कृष्ट फरवार्ड सरोज थापा, उत्कृष्ट गोलकिपर अमित प्रधान, उत्कृष्ट डिफेन्स सञ्जय रानामगर घोषित भएका थिए भने उत्कृष्ट मिडफिल्डर फ्रिडमफाइटरका उदयबहादुर गुरुङ घोषित भइ जनही पाँच हजार नगद र ट्रफी प्राप्त गर्न सफल भए ।
प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडी फ्रिडमफाइटरका तेञ्जिङ लामा घोषित भइ नगद दश हजारसङै ट्रफी प्राप्त गर्न सफल भए । विजयी खेलाडीहरुलाई हेटौंडा उपमहानगर प्रमुख मीनाकुमारी लामाले पुरस्कार प्रदान गरिन् । नगर प्रमुख लामाले स्वास्थ्यका लागि खेलकुद महत्वपूर्ण रहेको बताउ“दै फुटबल बिस्तारमा भेट्रान्स क्लबले आयोजना गरेको प्रतियोगिताबाट युवापुस्ताका खेलाडी उत्पादनमा पनि भूमिका खेल्ने बताइन् ।
समापन समारोहमा शिक्षाविद् पुरणबहादुर जोशी, एन्फा केन्द्रीय सदस्य टीका लामा, हेटौंडा–४ अध्यक्ष नवीन सिग्देल, ५ का अध्यक्ष सुशील घिमिरे, ६ का अध्यक्ष विष्णुबहादुर दाहाल, ७ का अध्यक्ष दामोदर गौतम, ८ का अध्यक्ष राम थापा, ९ का अध्यक्ष सुकराम केसी, ११ की अध्यक्ष जुना दाहाल, जिल्ला खेलकुद विकास समिति मकवानपुर कार्यलय प्रमुख माधब कोइराला, बागमती प्रदेश फुटबल संघ महासचिव लवराज ठकुरीलगायत विभिन्न संघसंस्थाका प्रतिनिधिको सहभागिता थियो ।
प्रतियोगितामा मुख्य प्रायोजक हेटौंडा उपमहानगरपालिका थियो भने सहप्रायोजक हेटौंडा स्कुल अफ म्यानेजमेन्ट थियो । विभिन्न पालिका, वडा कार्यालय, संघसंस्था तथा समाजसेवी, फुटबल खेलप्रेमीहरुको साथ र सहयोग रहेको प्रतियोगिता संयोजक मणिराज गौतमले बताए ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan